सवारी दुर्घटनाकाे बदलामा ४ जनाकाे सामूहिक हत्या !
काठमाण्डाैकाे तीनकुनेस्थित दिव्य सःमिलमा शुक्रबार राति चार जनाको सामूहिक हत्यामा संलग्न रहेकाे आरोपमा प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ ।
उक्त सः मिलमा कामदारको रूपमा बस्दै आएका दोलखा कालिन्चोक गाउँपालिका-८ घर भएका ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्ण बहादुर भुजेल, उनकै श्रीमती ५० वर्षीय अम्विका भुजेल, पूर्ण बहादुरकी आमा ७६ वर्षीया सुभद्रा भुजेल र धनकुटा भिरगाउँ गाउँपालिका-२ घर भई सोही मिलमा बस्ने १९ वर्षीय नबिन भन्ने विशाल राईसमेत ४ जना शुक्रबार राति धारिलो हतियार प्रहार भई मृत अवस्थामा फेला परेको थियाे ।
सिन्धुपाल्चोक जिल्ला बाह्रबिसे–९ घर भई काठमाडौं काँडाघारीमा बस्दै आएका २३ वर्षीय भण्डारीले हत्यामा संलग्नता स्वीकार गरेको प्रहरीको जनाएकाे छ ।
घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले घटनामा संलग्न भण्डारीलाई काँडाघारी वीरेन्द्र चोकबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जन्मजात बोल्न नसक्ने भण्डारीलाई नवीन भन्ने विशाल राई सवार माेटरसाइकलले ठक्कर दिएकाे र साेही विषयमा कुरा गर्न खाेज्दा उल्टै कुटपिट एवं अपमान भएपछि हत्या गरेकाे स्वीकाराेक्ति भण्डारीकाे छ ।
जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार काँडाघारी क्षेत्रबाट पक्राउ गरेको थियो । घटना भएको दिन बोकेको झोला र त्यसभित्र घटनामा प्रयोग भएको खुकरीसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त पत्रकार सम्मेलन गरेर आइतबार साँझ अभियुक्त भण्डारीलाई सार्वजनिक गरेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार भण्डारीको निशानामा सःमिलमा बस्ने नवीन भन्ने विशाल राई रहेकाे जनाइएकाे छ । केही दिन पहिले राईले चलाएको मोटरसाइकलले भण्डारीलाई ठक्कर दिएको र उल्टै राईले नै भण्डारीमाथि कुटपिट गरेकाले त्यसको प्रतिशोधमा आफूले यो घटना घटाएको भण्डारीकाे बयानमा उल्लेख छ ।
भण्डारी काँडाघारीस्थित दिदी भिनाजुसँग बस्थे । आउजाउ गर्ने क्रममा विशाल सःमिलको घर टहरोमा राईलाई देखेपछि घटना भएको दिन राईलाई भेटेर कुराकानी गर्ने, निहुँ खोजे आक्रमण गर्ने साेचका साथ काँडाघारीबाट आएकाे बयान दिएकाे प्रहरीले जनाएकाे छ ।
भण्डारी घटना भएकाे दिद बेलुकीतिर पछाडि पट्टीको बन्द गेटबाट चढेर राईको कोठामा पुगेकाे र बाहिर रहेका राईले केहीबेरमा काेठामा पुगेलगत्तै पुनः किन आएको भनेर कुटपिट गरेपछि आफूले खुकुरीले टाउकोमा प्रहार गरेको भण्डारीले स्वीकार गरेको प्रहरीले जनाएकाे छ ।
अरू ३ जनासँग भने कुनै रिसइवी नभएपनि घटना देखेर प्रहरीलाई भन्ने लागेर आक्रमण गरेकाे भण्डारीकाे भनाइ छ ।
जन्मजात बोल्न नसक्ने उनको बयान लिन प्रहरीले सांकेतिक भाषा विज्ञलाई झिकाएर बयान लिएकाे हाे ।
प्रहरीले सार्वजनिक गरेकाे घटनाको विवरण-
मिति २०८०/०५/२९ गते प्रतिवादी संजय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहु खोज्यो भने छप्काई दिन्छु भनि आफु बस्ने गरेको दिदि भिनाजुको घरको डेरा कोठाबाट उक्त खुकुरी आफुले बोक्ने झोलामा हाली काँडाघारी स्थितबाट निस्कीई बेलुकाको समयमा उक्त स मिलको पछाडी पट्टीको बन्द गेटबाट माथी चढी मृतक विशाल राई बस्ने कोठामा गई हेर्दा निजलाई तत्काल नदेखे पछि सोही कोठाको सोफामा बसी रहेको अवस्थामा केही क्षण पछि मृतक विशाल राई आई किन यहाँ बसेको भनि कुटपिट गरे पछि निज प्रतिवादी संजय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी विशाल राईको हत्या गरेको ।
निज विशाल राईको हत्या गर्ने क्रममा बुढी आमा सुभद्रा भुजेलले घटना देखी कराएको जस्तो लागि निज प्रतिवादीले आफुलाई चिन्ही यो घटना बाहिर आउछ भन्ने लागेकोले निज बुढी आमालाई सोही खुकुरीले टाउकोमा प्रहार गरेको । सोही समयमा पुर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखि निजलाई पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेको । त्यसपछि निज मृतक पुर्ण बहादुर भुजेलको श्रीमती अम्विका भुजेल पनि सोही स्थानमा आएकोले निजले समेत सो घट्ना देखेकोले बाहिर नल्याओस भनि निज अम्विका भुजेलको पनि टाउकोमा नै पटक पटक प्रहार गरी हत्या गरेको ।
त्यस पछि मृतक कुमार भुजेलको लाशलाई तानि घिसार्दै सोही टहराको कुनामा रहेको ट्वाईलेटको ढोका छेउमा लगी फालेको, निजको श्रीमती अम्बिका भुजेलको लाशलाई पानीको कल छेउमा लगी फालेको तथा सुभद्रा भुजेलको लाशलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगी फालेको ।
तत्कालै विशाल राईलाई रिसईबीको कारण प्रतिषोध साँधि हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटना देखि बाहिर आउछ भनि हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको ।
प्रतिवादीले चारै जनाको हत्या गरे पश्चात बाहिर मेन गेटमा ड्याङ ड्याङ आवाज आएको तथा बत्तिको लाईट समेत देखिएको कारण कोही आएकी भनि आफु प्रवेश गरेकै पछाडी पट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी बिरेन्द्र चोक स्थित पुगी निजको दिदि भिनाजुको कोठामा गई सुतेको खुल्न आएको ।
शनिबार बिहान उठी खाना खाए पछि अघिल्लो दिन जस्तै पहिला पढेको नक्साल स्थित बिधालयमा नै साथीहरु सँग भेट्न गई घर आई खाना खाई सुतेको खुल्न आएको ।
आईतबार बिहान उठी खाना खाई सके पछि निजले आफूलाई प्रहरीले खोजी रहेको हुन सक्छ भन्ने लागि सिन्धुपाल्चोक स्थित निजको घर गाउँ गई लुकिछिपी बस्छू भनि काँडाघारी बिरेन्द्र चोक स्थित दिदि भिनाजुको घरबाट निस्कीई आउँदै गर्ने क्रममा सोही ठाउँबाट उक्त घटनामा संलग्न ब्यक्तिको बिभिन्न विधी र प्रविधि प्रयोग गरी खुलेको हुलिया विवरण अनुसार खोज्दै जाने क्रममा निजले घटनाको दिनमा समेत बोकेको झोला र उक्त झोलामा घटनामा प्रयोग भएको खुकुरी सहित खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिईएको ।
निज प्रतिवादी जन्मजात बोल्न नसक्ने, सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षा सम्म अध्ययन गरी १२ कक्षा सम्म काठमाण्डौमा अध्ययन गरेको खुल्न आएको । सो घटना अनुसन्धान सम्बन्धमा सांकेतिक भाषा बिज्ञ झिकाई थप सोधपुछ गरिएको सोही क्रममा निजले आफुले सम्पुर्ण घट्ना एक्लै घटाएको स्विकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको ।

