इन्धनकाे मुल्यवृद्धि, चाडबाडकाे मुखमा मुल्य बढाएकाे भन्दै विराेध
नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मुल्यबृद्धि गरेकाे छ ।
आइतबारबाट लागू हुने गरी निगमले पेट्रोल, डिजेल, मट्टीतेल, ग्यास र हवाइ इन्धनको मुल्य बढाएको हो।
निगमले शनिबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा दुई रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा ६ रूपैयाँ बढाएको जानकारी दिएको छ।
त्यस्तै खाना पकाउने ग्यासको भाउ प्रतिसिलिन्डर दुई सय १५ रूपैयाँ बढाएको छ। हवाइ इन्धन आन्तरिकतर्फ लिटरमा ८ रूपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ६० डलर (प्रति लिटर करिब ८ रूपैयाँ) बढाएको छ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ मुल्य तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ३४ पैसा, डिजेलमा चार रूपैयाँ ८२ पैसा, ग्यासमा एक सय ७३ रूपैयाँ ४५ पैसा र हवाइ इन्धनमा प्रतिलिटर ६ रूपैयाँ ५४ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ।
निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गर्ने गरिएको जनाएको छ।
निगमले मुल्य बढाएपछि सामाजिक सञ्जालमा सरकारकाे विराेध भएकाे छ । सत्तारूढ दलकै नेता कार्यकर्ताले समेत चाडबाडकाे मुखमा इन्धनकाे मुल्य बढाएकाे तीव्र राेष प्रकट गरेका छन् र फिर्ता लिन भनेका छन् ।


