गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता दिइने

गैरआवासीय नेपालीहरु विश्व सम्मेलनका लागि काठमाडौंमा भेला भएका छन् । साेही अवसर पारी सरकारले गैरआवासीय नेपाली (एनआरएन)लाई नागरिकता वितरण शुरू गरेकाे छ ।

एनआरएन पदाधिकारीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासबाट एनआरएन नागरिकता प्रदान गरेर यसकाे सुरूवात गरिएकाे हाे ।

गत जेठमा संशोधन भएको नागरिकतासम्बन्धी ऐनअनुसार नागरिकता नियमावली सरकारले यसअघि नै स्वीकृत गरेकाले गैरआवासीय नेपालीलाई नेपालीले नेपालको नागरिकता पाउने बाटो खुलेको थियो ।

नागरिकतासम्बन्धी ऐनको दफा ७ (क) १ मा विदेशी मुलुकको नागरिकता प्राप्त गरी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्रबाहेकका देशमा बसोवास गरेको र साबिकमा वंशजको वा जन्मका आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था छ ।

एनआरएन नागरिकता पाएकाहरुले राजनीति गर्न, सरकारी पदमा बस्न र भोट हाल्ने अधिकार भने पाउने छैनन् । उनीहरुलाई नेपालमा व्यवसाय गर्न र सम्पत्ति राख्न पाउने ऐनमा ब्यवस्था गरिएकाे छ ।

गैरआवासीय नेपालीले नागरिकता लिनका लागि निवेदक व्यक्ति वा निजका आमा-बुबा, हजुरबुबा-हजुरआमा साबिकमा नेपालको नागरिक रहेको प्रमाण पेस गर्नुपर्ने हुन्छ ।

Facebook Comments