बडा दशैं पर्व आज समापन

नेपाली हिन्दुहरूले भव्य रूपमा मनाउने महान पर्व बडा दशैं आजदेखि सकिंदैछ । दुर्गा पक्ष अर्थात् दसैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि समापन हुँदैछ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो बडा दसैं पर्व समापन हुन्छ।

शास्त्र अनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको भएसँगै शुक्रबार नै जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि पवित्र तीर्थस्थलमा लगी सेलाइएको छ।

धार्मिक मान्यता अनुसार अखिल बलिपूर्ति हुने दिन नै विजयादशमीदेखि सुरु भएको नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने क्रम पनि शुक्रबार नै समापन गरिएको छ।

कोजाग्रत पूर्णिमाका दिनसम्म नै नवदुर्गाको प्रसाद लगाएर आशीर्वाद थाप्ने प्रचलन रहेकाले आजपनि कतिपय आफन्तजनकाेमा टिका जमरा एवं आशीर्वाद ग्रहण गर्न जाने चलन छ ।

यसैवीच कार्तिक स्नान गरी तुलसीको विशेष रुपमा गरिने पूजा आराधना पनि आजैदेखि सुरु गरिँदैछ । आकाशदीपदान पनि आजै साँझदेखि सुरु गरिने जनाइएको छ।

आश्विन शुक्ल पूर्णिमाका अवसरमा आज खण्डग्रास चन्द्रग्रहण पनि लाग्ने समितिले जनाएको छ।

Facebook Comments