नेपाल संवत्‌को ११४४ शुभारम्भ

सरकारी कागजातमा नेपाल संवत् लेखिने

अवदेखि सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख हुने भएकाे छ । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले मंगलबारबाट सबै सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेकाे हाे ।

‘मिति २०८०/७/२८ देखि सुरु हुने नेपाल संवत् ११४४ को उपलक्ष्यमा सबै नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्ने । नेपाल संवत् ११४४ देखि विक्रम संवत् उल्लेख गरिने सरकारी कागजातमा नेपाल संवत्‌समेत उल्लेख गर्ने’ मन्त्रिपरिषद्को बैठकको निर्णयमा छ ।

नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएकाले यसलाई सरकारी प्रयोजनमा ल्याउनुपर्ने खास गरी नेवार समुदायकाे माग थियाे । सरकारले मंगलबारदेखि विक्रम संवत् लेखिने सबै कागजातमा नेपाल संवत् समेत लेख्ने निर्णय गरेको हो ।

नेपाल संवत् लिच्छवी राजा मानदेव द्वितीयको नाममा प्रचलित ‘मानदेव संवत्’लाई विस्थापित गरी लिच्छवीकालकै अर्का राजा राघदेवले प्रचलनमा ल्याएको संवत् हो । ‘तत्कालिन व्यापारी शंकधर साख्वाले आफ्नो नीजि सम्पत्तिबाट नागरिकहरुको ऋण तिरिदिएको र उनीहरुलाई ऋण मुक्त गरेपछि नेपाल संवत्काे सुरुवात गरेको’ अधिकांश इतिहासविद्हरुको निस्कर्ष छ ।

यो घटना नेपालको इतिहासमा यथेष्ट ऐतिहासिक प्रमाण नरहेकाे तर्क पनि कतिपयकाे छ ।

नेपाल सरकारले नेपाल संवत्‌का प्रवर्तक शंकधर शाख्वालाई ‘राष्ट्रिय विभूति’ र नेपाल संवत्‌लाई ‘राष्ट्रिय संवत्’ घोषणा गरेको छ । नेपाल संवत् नयाँ वर्ष सुरु हुने कार्तिक शुक्ल प्रतिपदाको दिन सरकारले ‘सार्वजनिक विदा’समेत घोषणा गरिसकेको छ ।

यसैविच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालकाे माैलिक संवत् नेपाल संवत् ११४४ काे शुभारम्भकाे अवसरमा शुभकामना व्यक्त गर्नुभएकाे छ ।

प्रधानमन्त्री प्रचण्डले शंकधर शाख्वाकाे समाज रूपान्तरणमा अतुलनीय भूमिका रहेकाे उल्लेख गर्दै अाफू नेतृत्वकाे सरकारले राष्ट्रिय संवत्काे मान्यता दिने निर्णय गरेकाे र अहिले सरकारी कामकाजमा नेपाल संवत् उल्लेख गर्ने निर्णय गरेकाे उल्लेख गर्नुभएकाे छ ।

शंखधर शाख्वा एक प्रगतिशील सामाजिक अभियन्ता र नेपाल संवत्का प्रवर्तक हुनुहुन्थ्यो, नेवारी समुदायमा जन्मिएर सिङ्गो देशकै गरिमा र मौलिकताका निम्ति उहाँले पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ प्रधानमन्त्रीकाे शुभकामना सन्देशमा उल्लेख छ ।

Facebook Comments