कोरला नाका खुल्लाः मुस्ताङबासीले चीनको नेचुङ–लिजी बजार आवतजावत गर्न पाउने

नेपाल चीनकाे कोरला नाका सोमबारदेखि सञ्चालनमा आएकाे छ । अवदेखि साे नाकाबाट सामान आयात तथा निर्यात गर्न सकिने गरी व्यावसायिक रूपमा खुला भएको हाे ।

काेराेना महामारीयता बन्द रहेकाे मुस्ताङको उपल्लो भेगमा अवस्थित नेपाल–चीन २४ नम्बरको सीमास्तम्भ रहेको फराकिलो पठार कोरला नाका सोमबारदेखि व्यावसायिक रूपमा खुला गरिएकाे छ ।

नाका खुलेसँगै मुस्ताङ जिल्लाका सबै स्थानीय तहका बासिन्दा कोरला नाका भएर चीनको (नेचुङ–लिजी) बजार आवतजावत गर्न पाउने भएका छन् । अन्य व्यवसायीले पनि नियम अनुसार साे नाकाबाट सामान आयात तथा निर्यात गर्न सक्नेछन् ।

मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका बासिन्दाका लागि मात्रै कोरला नाका भएर चीनकाे बजारसम्म जाने अनुमति हुने गर्दथ्याे ।

सबै मुस्ताङबासीका लागि कोरला नाका खुला

चार वर्षपछि खुलेको कोरला नाकाबाट मुस्ताङका सबै पाँच वटै स्थानीय तहका बासिन्दालाई आवतजावत गर्न दिने दुई देशका जनप्रतिनिधि र सुरक्षा अधिकारीहरुबीच सोमबार सहमति भएको हाे ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङका अनुसार बैठकमा हामी (नेपाल) पक्षबाट मुस्ताङका सबै बासिन्दालाई कोरला नाकामा सिमापारको अनुमतिको व्यवस्था गर्न प्रस्ताव गरेकाे र चीनले सहमति जनाएकाे हाे ।

कोरोना महामारी फैलिएपछि विसं २०७६ देखि कोरला नाका पूर्ण रुपमा बन्द भएको थियो ।

Facebook Comments