यमपञ्चककाे पाँचाै दिनः आज भाइटीका
हिन्दु धर्मावलम्वीहरूले मनाउने दाेस्राे ठूलाे पर्व तिहार अर्थात यमपञ्चककाे पाँचाै दिन आज भाइटीका । तिहार अन्तर्गत यमपञ्चकका पाँचै दिनका आ आफ्ना महत्व छन् ।
यद्यपि तिहारकाे पाँचाै दिन भाइटीका लगाइने भएकाले यस दिन बिशेष महत्वकाे हुने गर्दछ । बुधबार १० बजेर ५१ मिनेटमा भाइटीकाका लागि शुभसाइत रहेकाे नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएकाे छ । तथापि तिहारकाे भाइटीकाकाे दिनमा जतिबेला पनि टिका लगाउन मिल्ने मान्यता रहेकाे छ ।
दिदीबहिनीहरू दाजुभाइलाई टीका लगाउन माइती जाने प्रचलन छ । कतिपयले दाजुभाइलाई नै आफ्नाे घरमा बाेलाएर टीका लगाउने गर्दछन् । नेपाल, भारत, भुटान, म्यानमार अनि थाइल्यान्डमा समेत यस चाडको आ-आफ्नै तरिकाले मनाउने चलन छ ।
भाइटीका लगाउनका लागि बिहान सबेरैदेखि सरसफाइ तथा बिभिन्न परिकार बनाउन घर-घरमा चहलपहल हुने गर्दछ ।
तिहारकाे भाइटीकाका लागि सप्तरङ्गी टीकाहरू, कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सेल रोटी, अनर्सा, मिठा स्वादिला चकलेट, काजू, किसमिस, नरिवल, छोकडा, मिठाई, मरमसला लगायतका खानेकुराहरूसहित आज दिदीबहिनीले दाजुभाइको पूजा गर्ने चलन छ ।
भाइटीकाका विषयमा जनउक्ति
भाइटीकाका विषयमा एउटा अत्यन्त प्रचलित जनउक्ति रहेको छ: एक पटक एक जना चेलीले आफ्नो दाजुलाई टीका लाउँदै गर्दा यमराजको दूत उनको दाजुलाई लिन आई पुग्दछ । यमदूतका अनुसार उनको दाजुको उमेर पुगिसक्यो अनि अब उनको मृत्यु निश्चय छ । ती चेलीले यमदूतलाई टिका टालो नसकुन्जेलसम्म पर्खिन भन्छिन् र टिकोटालाका क्रममा यमदूतलाई पनि सँगै राखेर टिका टालो अनि पूजा गर्दछिन् । यसरी चेलीको श्रद्धा अनि सम्मानबाट खुशीभएका यमदूतले प्रसन्न भएर चेलीलाई वरदान माग्न भन्दा उनले मेरा दाजुलाई नलग्नु भनेर वरदान मागेर बचाएको अर्थात् चेलीको मायाले दाजुभाइको मृत्युसमेत टर्दछ भन्ने जनविश्वास रहेको छ ।
यमराजले पनि आफ्नो बहिनीसँग यमपञ्चकको पाँचौँ दिन टीका लाउँदा बहिनीले वरदानस्वरुप हरेक वर्ष दाजुलाई यसै गरी टिका लगाउन र पुज्न पाउ भन्ने कुरा मागेकाले भाइटिकाको चलन चलिआएको किम्बदन्ती रहेको छ ।
दिदी-बहिनीले पान, सुपारी, नरिवल या मिठाई लगायतका कुराहरू दिएर दसैँ पश्चात् दाजुभाइलाई भाइटीकाको निम्तो दिने चलन छ । यसरी निम्तो पाएका दाजुभाइहरू आज दिदीवहिनीसंग टिका लगाउँदछन् । टीका लगाउनु पूर्व दिदीबहिनीले दाजुभाइलाई विशेष पूजा गर्न कालागि भूँईमा चकटी ओछ्याएर बसेको ठाउँ वरिपरि कलशमा तेल-पानी राखेर हरियो दुवोबाट पातलो धारा बगाउँदै पाँच पटक अथवा सात पटक घुमेर घेर्ने कार्यबाट पूजा प्रारम्भ गरिन्छ । त्यसपश्चात् अक्षता, फूल, चन्दन, धानलाई भुटेर तयार भएको लाभा छर्कदैं कलशको पानीलाई दुबोले अभिसेष गर्दै पूजा गर्दछन् । यमराजको प्रतीक मानेर बिमिरा (एक प्रकारको ठुलो कागती प्रजातिको फल) को पूजा गरिसकेपछि, दैलोमा ओखर राखेर ढुङ्गाको लोहोरोले फुटाइ ढोका ढ्याप्प लगाएर काललाई छेक्ने चलन छ । कहिल्यै नओइलाउने मखमली अथवा सुपारी फूलको माला, सदैव हरियो रहने दुबो अनि सयपत्रीको माला लगाएर आफ्ना दाजुभाइको आरोग्य अनि दिर्घायूको कामना गर्ने चलन छ ।
शिरमा तोरीको तेल लगाएर दाजुभाइको कपाल कोरेर अनि सप्तरङ्गी टीका लगाइदिएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । सप्तरङ्गी टिकाको कला एक अर्काको निधारमा सप्रेम लगाइसकेपछि दिदीबहिनीहरू आफ्नो गक्ष अनुसारको फलफूल, नैवेद्य, मरमसला दाजुभाइलाई प्रदान गर्दछन् भने दाजुभाइले पनि आफ्नो गक्ष अनुसारको दक्षिणा या अन्य उपहारहरू दिदीबहिनीको पाउमा राखेर ढोग्दछन् ।
आजको दिन अधिकांश निधारहरू सप्तरङ्गी हुन्छन्, दिदीबहिनी नभएकाहरूले कसैलाई दिदीबहिनी मानेर या मठ मन्दिरमा अनि काठमाण्डौको रानी पोखरीमा गएर टिका लगाउने अनि सामूहिक भाइटीकामा जाने चलन पनि छ ।
किजा पूजा
विभिन्न मौलिक चाडबाड, सभ्यता तथा संस्कारका धनी नेवा: समुदायले पनि काग तिहार र कुकुर तिहार मनाए तापनि मूल रूपमा लक्ष्मी पूजा, म्ह पूजा र किजा पूजा भनी भाइटिका मनाउँदै आएका छ । तीन दिन सम्म लगातार रूपमा मनाउँदै आएको कारणले नै स्वस्ति नख: भनिएको हो । नेवा भाषामा स्वन्हु भनेको तीन दिन र नख: भनेको चाड पर्व हो ।
कृषि प्रधान नेवा समुदायमा यो तीन दिनको चाड स्वस्ति नख: मा खेतबाट आएको धान भित्र्याउने र वर्षभरिको हिसाब-किताब सम्पन्न गर्ने अर्थात् साल तमाम गर्नुका साथसाथै आफ्नो शरीर लाई पूजा गरी नयाँ वर्षका लागि सङ्घर्ष गर्दै अगाडी बढ्न कालागि आवश्यक पौष्टिकता ग्रहण गर्ने पर्वको रूपमा लिएको पाइन्छ ।
यस दिनमा म्ह पूजाकै दिनमा जस्तै तयार गरी मण्डप लेख्ने गरिन्छ । बिमिरोदेखि सबै प्रकारका फलफूल समेत मण्डपमा राख्ने गरिन्छ । नेवा: समुदायमा भने पञ्चरंगी टिका नभई अक्षता, अबिर, दही, चिउरा र पानी राखेको रातो टिका जसलाई नेवारी संस्कारमा ‘जाकि सिन्ह’ भनिन्छि । नेवार समुदायमा म्ह पुजा कै दिनमा जस्तै पूजा आजदेखि साैगन दिने चलन रहेको छ ।
पञ्चतत्वको सौगन दिनेदेखि पूजा गर्ने र आफ्नो भाइको दीर्घायुको कामना गर्ने गरिन्छ । हरेक मानिस भित्रको देउता अनि दिदीबहिनीबिचको आत्मियताका लागि नेवा समुदायमा तिहार प्रसिद्ध छ ।
सबैको मङ्गल होस्, शुभकामना !
– हाम्रो पात्रोबाट साभार

