बीआरआई अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुन्छः उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले चीनले अगाडि सारेको ‘बेल्ट एण्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतका प्राेजेक्ट नेपालमा पनि शुरू हुने बताउनुभएकाे छ ।
यसले दक्षिण एशियाको आर्थिक विकासमा सहयाेग पुर्याउने उहाँकाे भनाइ छ । काठमाडाैंमा सिल्क रोड इन्टरनेसनल थिङ्क ट्याङ्क एक्स्चेन्ज सेन्टर, चीनको बेइजिङ भाषा तथा सांस्कृतिक विश्वविद्यालय र साइनो नेपाल मिडिया सोसाइटीले गरेकाे कार्यक्रममा गृहमन्त्री श्रेष्ठले यस्ताे बताउनुभएकाे हाे ।
उहाँले कनेक्टिभिटी, पूर्वाधार विकास र आर्थिक सहयोग अभिवृद्धिमा बीआरआईले जोड दिएकोले यस अन्तर्गतका आयाेजना नेपालमा पनि छिट्टै शुरू हुने बताउनुभयाे ।

बीआरआईले नयाँ सम्भावना खोल्ने, व्यापारलाई सहज बनाउने र आर्थिक वृद्धिलाई प्रोत्साहन गर्ने मन्त्री श्रेष्ठकाे भनाई थियाे ।
उपप्रधानमन्त्री श्रेष्ठले नेपाल–चीन सम्बन्ध सदियौँ पुरानो तथा पारस्परिक सम्मान, समझदारी र सहयोगमा आधारित रहेको उल्लेख गर्नुभयाे । दुई देशबिचको सम्बन्ध कूटनीतिक र आर्थिक क्षेत्रमा मात्र नभई सांस्कृतिक र शैक्षिक क्षेत्रमा पनि प्रगाढ हुँदै गएकाे भन्दै उहाँले बीआरआई अन्तगर्गतका प्राेजेक्टले थप सुदृढ हुने बताउनुभयाे ।
कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रवक्ता मातृका पाैड्याल, मध्यपुर ठिमीका मेयर विजयकृष्ण श्रेष्ठ, नेपाल चाइना सांस्कृतिक एवं शिक्षा परिषद्का दिलीप आचार्य, अरनिकाे प्राेजेक्टका अनेका रेवीका राजभण्डारी, राैनवसिहं खत्री नेपाल र चीनवीचकाे सम्बन्धका बारेमा चर्चा गरेका थिए ।
भुटानी कलाकार छिरीङ दाेर्जी, जहारलाल नेहरू विश्वविद्यालयका छेतेन न्याम्ग्याल, सिल्क राेड युथ फाेरमका उपाध्यक्ष याङ तोङपिङ, नेपालस्थित चिनीयाँ दुतावासका बाणिज्य काउन्सिलर सि यु , सिचुवान संग्रहालयकी हाेउ सिसिन लगायतले नेपाल चीन सम्बन्धका बारेमा र सिल्क राेड परियाेजना प्राचिनकालकाे मानव सभ्यतासँग सम्बन्धित भएकाे बताएका थिए ।
नागरिकस्तरमा शताव्दि अगाडि देखि नै व्यापार तथा अन्य सांस्कृतिक सम्बन्ध रहेकाे सन्दर्भमा सिल्क राेड परियाेजनाले त्यसबेलाकाे आत्मीयता पुनर्ताजगी हुने र विश्वमा शान्ति भातृत्वकाे भावना अभिवृद्धि गर्न मद्दत पुग्ने वक्ताहरूकाे धारणा थियाे ।
वक्ताहरूले प्राचिन कालदेखि नै नेपाल र चीनवीच सांस्कृतिक रूपमा घनिष्ठ सम्बन्ध रहेकाे बताएका थिए । सिल्क राेड परियाेजनाले प्राचिनकालमा प्रचलनमा रहेकाे मानव आवात जावत गर्ने मार्गमा पर्यापर्यटनकाे विकास हुने वक्ताहरूकाे भनाइ थियाे ।

