गण्डकीका सभामुख विरूद्ध कांग्रेस सर्वाेच्च जाने

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल विरूद्ध सर्वाेच्च अदालत जाने भएकाे छ ।

सभामुख धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि नेपाली कांग्रेस त्यसविरुद्ध सर्वोच्च अदालत जान लागेकाे हाे ।

आइतबार प्रदेश सभामा पेस विश्वासको मतसम्बन्धी प्रस्तावमा अधिकारीको पक्षमा ३० मत परेको थियो । साेही मतलाई सभामुख धितालले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेस क्रुद्ध बनेकाे छ ।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ सांसदको समर्थन चाहिन्छ ।

नेपाली कांग्रेस गण्डकीका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले आइतबार विज्ञप्ति जारी गर्दै खगराज अधिकारीले विश्वासको मत लिने क्रममा असंवैधानिक काम गरेको आराेप लगाउनुभएकाे छ ।

न्याैपानेले जारी गर्नुभएकाे विज्ञप्तिमा ‘संविधानको धारा १८८ को उपधारा ३ मा भएको व्यवस्था अनुरूप प्रदेश सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको बहुमत मत प्राप्त गर्नुपर्नेमा सो प्रक्रिया पूरा नगरी मा. सभामुखले असंवैधानिक तबरबाट मुख्यमन्त्री मा. खगराज अधिकारीलाई विश्वासको मत प्राप्त भएको भनी गर्नुभएको घोषणा/निर्णय पूर्ण रूपमा असंवैधानिक, संसदीय अभ्यास र परम्पराविरुद्ध छ,’ भनिएको छ ।

Facebook Comments