माैसमः मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना
आज काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदली रहने छ ।
बंगालको खाडीबाट उत्पन्न रेमल चक्रवातको असर नेपालमा खासै नपर्ने जल तथा माैसम विज्ञान विभाग माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
उक्त चक्रवातकै कारण गर्दा कोशी प्रदेशका तराई भागका जिल्लाहरु मोरङ, झापा लगायतमा बदली र वर्षा भइरहेको छ । आज अपराह्नदेखि बागमती र गण्डकी प्रदेशका केही भागमा पनि हल्का वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानैबाट गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थान र लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भैरहेको छ ।
यस्तै सोमबार दिउँसो कोशी, मधेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।
आज राती कोशी प्रदेशमा पूर्ण बदली रहने छ । मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम पनि आंशिक बदली रहने छ । राति कोशी प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेशका एवं मधेश प्रदेश लगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

