ताप्लेजुङकाे फक्ताङलुङ गाउँपालिकामा पहिराेमा परी चार जनाको मृत्यु

बुधबार रातिदेखिको अविरल वर्षाका कारण घरमाथिबाट आएको पहिरोले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका एक घर बगाउँदा ४ जनाकाे मृत्यु भएकाे छ ।

गएराति आधारातमा पहिरोले घर बगाउँदा घरमा सुतिरहेका गाउँपालिका उपाध्यक्षका बुवा रामबहादुर लिम्बू, कान्छीआमा जसमाया लिम्बू, नौ वर्षीया बहिनीहरु गंगा र जमुनाको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

गाउँपालिका उपाध्यक्ष विकास साम्राकाे बसाेबास गाउँकै अर्काे घरमा रहेकाे वडाध्यक्ष भुपेन्द्र चौलागाईले जानकारी दिनुभयाे ।

उहाँका अनुसार ढुंगा माटोको दुई तले घर पुरै बगाएको छ भने अहिले खोज तथा उद्धारको काम भइरहेकाे छ।

पहिरोले घरमा रहेका करिब ५० वटा बाख्रा र कुखुरा लगायत चौपाया पनि बगाएको छ । वडाध्यक्ष चौंलागाईका अनुसार बाढीका कारण फक्ताङलुङ गाउँपालिकामा बुधबार पनि दर्जनौँ पुलहरु बगाएको थियो ।

Facebook Comments