सातवटै प्रदेशका आ.व. ०८१/८२ को बजेट सार्वजनिक

संवैधानिक प्रावधान अनुसार  शनिबार सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट सार्वजनिक गरेका छन् ।

यसपटक संघीय सरकारले अनुदान रकम घटाएको छ भने प्रदेशहरूले समेत आन्तरिक आम्दानी बढाउन नसक्दा ५ वटा प्रदेशको बजेटको आकार गत वर्ष भन्दा कम छ ।

कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली गरी ५ प्रदेशको बजेटको आकार घटेको ह । बागमती र सुदूरपश्चिममा भने बजेटको आकार घटेको छैन ।

कोशीमा प्रदेश

कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

जुन चालु आर्थिक वर्षमा भन्दा करिब डेढ अर्ब रुपैयाँले कम हो । कोशीमा हाल ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । बजेटमा चालुखर्च : १४ अर्ब ४७ करोड, पुँजीगत खर्च : १६ अर्ब २० करोड, वित्तीय हस्तान्तरण : ४ अर्ब ५८ करोड विनियोजन गरिएको छ ।

मधेश प्रदेश

मधेश प्रदेश सरकारले ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ ।

चालुतर्फ १६ अर्ब ७ लाख र पूँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख विनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको भन्दा करिब २० करोड कम हो ।

हाल मधेश सरकारले ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ ।

बजेटको स्रोतमा आन्तरिक स्रोतबाट ९ अर्ब ७ करोड, संघ सरकारबाट अनुदानबाट ११ अर्ब ३५ करोड, राजस्व बाँडफाँटबाट १३ अर्ब ६० करोड, चालू मौज्दात ७ अर्ब ८६ करोड, आन्तरिक ऋणबाट २ अर्ब बजेट ब्यवस्थापन गर्ने बजेट वक्तव्यमा उल्लेख छ ।

बागमती प्रदेश

बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका छ । यो चालु आर्थिक वर्षको भन्दा करिब दुई अर्ब बढी हो ।

आर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले पेश गरेको बजेटको कुल विनियोजनमध्ये चालुतर्फ २६ अर्व १० करोड १६ लाख ८२ हजार, पूँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड छ ।

कर राजस्वतर्फ ३४ अर्ब ९ करोड, संघ सरकारबाट प्राप्त हुने अनुदान, १५ अर्ब ५७ करोड तथा मौज्दात र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड आम्दानी हुने अनुमान छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ३२ अर्ब ९६ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । जुन ८६ करोडले कम

चालु आवमा यस सरकारले ३३ अर्ब ८२ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

आगामी आवको बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड र पूँजीगततर्फ १९ अर्ब ५१ करोड विनियोजन गरिएको छ । पूँजीगत बजेट कुल विनियोजनको ६० प्रतिशत भन्दा बढी छ ।

बजेटमा आम्दानीको स्रोतमा  राजस्व बाँडफाँटमा ९ अर्ब ६१ करोड, संघीय सरकारले दिने अनुदानबाट १२ अर्ब ५७ करोड, आन्तरिक राजस्वमा ५ अर्ब १७ करोड र चालू मौज्दात २ अर्ब ९४ करोड हुने अनुमान छ ।

लुम्बिनी प्रदेश

लुम्बिनी सरकारले ल्याएको आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेटको ठूलो हिस्सा कृषि, स्वास्थ्य, पर्यटन र पूर्वाधारका पुराना र अधुरा आयोजना पूरा गर्नमा राखिएको छ ।

विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ । लुम्बिनीले चालु आर्थिक वर्षमा ४० अर्ब ४८ करोडको बजेट कार्यान्वयन गरिरहेको छ ।

आम्दनीतर्फ आन्तरिक राजस्वबाट ७ अर्ब ५१ करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब १ करोड, संघीय सरकारले दिने अनुदानबाट १४ अर्ब र चालू मौज्दात : २ अर्ब हुने अनुमान छ ।

कर्णाली प्रदेश

कर्णाली प्रदेशले चालु आर्थिक वर्षमा भन्दा करिब २ अर्ब रुपैयाँले घटाएर ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी वर्ष पूँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यो कुल बजेटको ५९.७ प्रतिशत हो । चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार (२४.१२ प्रतिशत) विनियोजन भएको छ । ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार वित्तीय हस्तान्तरण हुनेछ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ८३ करोड ४४ लाख
चालू मौज्दात ५ अर्ब १३ करोड, संघीय सरकारले दिने अनुदान : १६ अर्ब २ करोड, राजस्व बाँडफाँट ९ अर्ब ३८ करोड हुने अनुमान छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश सरकारले ३१ अर्ब ६२ करोड ९८ लाख रुपैयाँको बजेट ल्याएको छ । जुन चालु आर्थिक वर्षको भन्दा करिब डेढ अर्ब रुपैयाँले बढी हो ।

चालु आवमा सुदूरपश्चिम सरकारले २९ अर्ब २७ करोड रुपैयाँको बजेट कार्यान्वयन गरिरहेको छ । आगामी आर्थिक वर्षमा चालुतर्फ ११ अर्ब ७ करोड र पूँजीगततर्फ १७ अर्ब ५३ करोड खर्च गर्ने लक्ष्य प्रदेश सरकारको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्व तर्फ १ अर्ब ६० करोड, राजस्व बाँडफाँटबाट ९ अर्ब ९९ करोड संघीय सरकारबाट प्राप्त हुने अनुदान  १३ अर्ब ८२ करोड र चालू मौज्दातबाट ६ अर्ब १५ करोड हुने देखाइएको छ ।

Facebook Comments