लुते प्रधानमन्त्रीले देश सम्हाल्न सक्दैनन्: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्रीको हालत ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी’ भनेको जस्तो भएको बताउनुभएकाे छ । साथै उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई लुते प्रधानमन्त्रीकाे संज्ञा समेत दिनुभएकाे छ ।

काठमाडौंमा शनिबार पार्टीको काठमाडौं–६ प्रदेशसभा क्षेत्रीय कार्यसमितिको दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै उहाँले कांग्रेसले हेप्यो भनेर अर्को दलीय कित्तामा गएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई अहिले कुनै मन्त्रीले पनि नटेर्ने भन्दै लुते प्रधानमन्त्रीले देश सम्हाल्न नसक्ने टिप्पणी गर्नुभयाे ।

थापाले भन्नुभयाे, ‘देश सम्हाल्ने काम प्रधानमन्त्रीको हो तर प्रधानमन्त्रीको हालत कस्तो छ ? चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो छ । कांग्रेसले हेप्यो, कांग्रेसले हेप्यो भनेर गएको हालत अहिले एउटा मन्त्रीले प्रधानमन्त्रीलाई टेर्दैन, एउटा मन्त्रीले टेर्दैन । प्रधानमन्त्रीले बोल्दै गर्दा संसदमा मन्त्री आउँदैन । उपप्रधानमन्त्री आउँदैन । मन्त्रीले खल्तीबाट राजीनामा दिउँ, राजीनामा दिउँ भनेर थर्काउँछ । यस्तो प्रधानमन्त्री, यस्तो लुते प्रधानमन्त्री भएको बेलामा सम्हाल्छ त, कसरी सम्हाल्ने । मैले आरोप लागएको होइन, आफं हेर्नु हालत, मन्त्री र मुख्यमन्त्री कसैले टेर्दैनन् ।’

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति इंगित गर्दै ‘बा’ले आफैलाई मात्रै टेर्ने, प्रधानमन्त्रीलाई गन्दै नगन्ने मन्त्रीहरु सरकारमा पठाएको भन्दै यो सरकार यसरी चल्न नसक्ने बताउनुभयाे ।

अर्थतन्त्र सबैतिर अस्तव्यस्त भएको भन्दै ऋण लिएर ऋण तिर्नुपर्ने अवस्था देशमा रहेको थापाकाे भनाइ छ ।

Facebook Comments