पोखरा महानगरपालिकाे आ.व. २०८१/८२ का लागि करीब साढे ७ अर्बको बजेट सार्वजनिक
पोखरा महानगरपालिले आगामी वर्षका लागि करीब साढे ७ अर्बको बजेट ल्याएको छ । पोखरा महानगरपालिकाको १५ औँ नगर सभामा सोमबार उपप्रमुख मञ्जुदेवी गुरुङले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ३ हजार रुपैयाँको बजेट प्रस्तुत गर्नुभयाे ।

यो चालु आर्थिक वर्षको भन्दा ४२ करोड ९८ लाख ५९ रुपैयाँ बढी हो । चालु आर्थिक वर्षमा पोखरा महानगरपालिकाले ७ अर्ब ८ करोड ३४ लाख २४ हजारको बजेट ल्याएको थियो ।
प्रस्तावित आगामी आर्थिक वर्षको बजेट संघीय सरकार अनुदानबाट ४ अर्ब २० करोड २२ लाख १ हजार, प्रदेश सरकार अनुदानवाट ९ करोड ६३ लाख ८१ हजार र आन्तरिक आयवाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार पूर्ति गरिने उपप्रमुख गुरुङले बताउनुभयाे ।
त्यस्तै, संघीय राजश्व बाडँफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार, प्रदेश राजश्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार, स्थानिय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार प्राप्त हुने अनुमान छ । बाँकी अपुग रकम नगर विकास कोष ऋण ४ करोड ४८ लाख ८० हजार व्यहोरिने बजेटमा उल्लेख छ ।
महानगरले पर्यटन र सहरी विकास कार्यक्रमका लागि ५६ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै शिक्षा, खेलकूद तथा यूवा र प्रज्ञा प्रतिष्ठान सम्वन्धी कार्यक्रम सञ्चालनका लागि १ अर्ब ६५ करोड, स्वास्थ्य क्षेत्रका लागि ३५ करोड, सामाजिक विकास कार्यक्रमका लागि ६ करोड र संस्थागत विकास तर्फ २ करोड बजेट विनियोजन गरिएको छ ।
पर्यटन केन्द्रीत बजेट ल्याएको महानगरले पर्यटनको राजधानी पोखरा घोषणापछि अगाडि सारिएका रणनीतिक महत्वका नीति, कार्यक्रम र आयोजना कार्यान्वयन गर्ने भन्दै सोका लागि बजेट विनियोजन गरेको छ । पोखरा भ्रमण वर्ष(२०२५ घोषणा गर्ने र पोखरामा वार्षिक १५ लाख पर्यटन पु¥याउन पर्यटन प्रवद्र्धन गर्नका लागि रकम नतोकी बजेट विनियोजन गरिएको छ । पोखरालाई ब्राण्डिङ गर्नका लागि प्रवद्र्धन गर्न छिमेकी स्थानिय तहहरुसँगको सहकार्यमा पर्यटन लक्षित कार्यक्रम गर्न १ करोड ५० लाख विनियोजन गरिएको छ ।
महानगरले पोखरा सबै मौषमका लागि अभियान सञ्चालन गर्ने भन्दै त्यसका लागि बजेट छुट्याएको छ । महानगरले पोखरा(१ सिमपानीमा मुक्तिनाथ प्रवेश द्वार निर्माणका लागि बजेट विनियोजन गरेको छ । त्यस्तै, फेवातालको उत्तर पश्चिमी खण्डमा बायोइञ्जिनियरिङ अध्ययनको आधारमा माटोको ड्याम निर्माण गरी फेवाताल तथा सिमसार क्षेत्र संरक्षण र फेवा बिच निर्माणको काम शुरुआत गर्न २ करोड रुपैयाँ, भ्यू फेवा ः राउण्ड फेवा कार्यक्रम अन्तर्गत फेवा फेरो पदमार्ग निर्माणका लागि ५० लाख र ड्यामसाइड पञ्चासे पर्यटकीय मार्ग विकासका लागि रू ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरले सिद्धार्थचोक(विन्ध्यबासिनी सडक खण्डमा पर्ने सम्पदा वस्ती संरक्षण, विकास र प्रवद्र्धनका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पोखरा, मादी र रुपालाई जोड्ने रोयल ट्रेक निर्माणका लागि विस्तृत रुपमा अध्ययन गरी नक्साङ्कन, विकास र प्रवद्र्धन गर्न बजेट विनियोजन गरिएको छ ।
मुस्ताङचोक–सहिदचोक, चिप्लेढुंगा(सभागृह र जिरो–विन्ध्यबासिनी खण्डमा सडक सौन्दर्यकरण तथा फुटपाथ निर्माणका लागि ३ करोड बजेट विनियोजन गरिएको छ । बजेटमा एकीकृत पञ्चासे क्षेत्र विकास योजना, ९ ताल जोड्ने साइकल मार्ग, फेवा लेक अर्गानिक ट्रेल, विन्ध्यवासिनि सम्पदा क्षेत्र विकास परियोजना लगायतका कार्यक्रम सञ्चालनका लागि २६ करोड १६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयाे ।
महानगरले पूर्वाधार विकास अन्तर्गत बीपी मार्ग सडक स्तरोन्नतीका लागि ८ करोड, र विश्व बैंकको सहयोगमा सञ्चालित तालचोक–बेगनास, शिसुवा–शिसाघाट तथा बिरौटा–दोबिल्ला–बागमारा–कोत्रे सडकका लागि रू १ अर्ब ६५ करोड विनियोजन गरेको छ ।
शिक्षातर्फ सामुदायिक विद्यालयहरुको व्यवस्थापन र शिक्षाको गुणस्तर सुधार गर्न प्रधानाध्यापकहरुलाई कार्यसम्पादनका आधारमा प्रोत्साहन लागि रू ८४ लाख बजेट विनियोजन गरिएको छ । महानगरले महानगर भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खाजा खर्च वापत प्रति दिन १० रुपैयाँ थप्ने भएको छ ।
महानगरले संघ सरकारले प्रति दिन १५ रुपैयाँ दिने गरेकोमा त्यसमा १० रुपैयाँ थपिदिने भन्दै त्यसका लागि ४ करोड ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । महानगरले महानगरवाट संचालित गण्डकी बहुप्राविधिक शिक्षालयको पूर्वाधार निर्माण तथा शैक्षिक कार्यक्रम सञ्चालनका लागि १ करोड ६५ लाख बजेट विनियोजन गरेको उपप्रमुख गुरुङले बताउनुभयाे ।
त्यस्तै बालविकास केन्द्र सहयोगी कार्यकर्ता, विद्यालय सहयोगी र विद्यालय कर्मचारीहरुका लागि तलब भत्ता अनुदान तर्फ ४ करोड ७० लाख विनियोजन गरिएको छ ।
महानगरले सामाजिक विकास तर्फ उपप्रमुखसंग महिला कार्यक्रममार्फत विपन्न, एकल एवम् लक्षित वर्गका महिलाहरुको उद्ययमशीलता विकासका लागि सञ्चालित चक्रीय कोषमा आधारित उपप्रमुखसँग महिला कार्यक्रमको निरन्तरताका लागि आगामी आर्थिक वर्ष थप १ करोड व्यवस्था विनियोजन गरिएको छ ।
शहरी गरिबी न्यूनिकरण कार्यक्रम अन्तर्गत लुमन्ती र महानगरपालिकाको साझेदारीमा विपन्न वर्गको आयआर्जन र आवास निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ ।
महानगरले नसर्ने रोगहरुको बढ्दो समस्या न्यूनिकरण गर्न ४० वर्ष माथिका नगरवासीलाई कम्तिमा वर्षको एक पटक नसर्ने रोगको स्क्रिनिङ, परामर्श र उपचार सेवा निःशुल्क दिने भएको छ ।
दीर्घ रोगी, अपाङ्गता भएका व्यक्ति तथा ७० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई घरघरमा निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउनका लागि बजेट विनियोजन गरिएको छ ।

