बंगलादेशमा राजनीतिक संकटः प्रधानमन्त्री हसिना राजीनामा दिएर विदेश पलायन

बंगलादेशमा राजनीतिक संकट बढेकाे छ । आरक्षण काेटाका बिषयमा देशभर चर्किएको विद्यार्थी आन्दोलन र आफ्नो राजीनामा माग भएपछि प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर विदेश पलायन भएको बताइएकाे छ ।

विविसि लगायतका समाचार एजेन्सीहरुले शेख हसिना सवार जहाज भारतको उत्तर प्रदेशमा अवतरण गरेको र हसिना बेलायत जाने याेजनामा रहेकाे हुन सक्ने जनाएका छन् ।

इन्डिया टुडेका अनुसार बंगलादेशी सेनाको यो जहाज स्थानीय समयअनुसार ५.३६ बजे उत्तर प्रदेशको गाजियावादस्थित हिन्डन एरयबेसमा अवतरण गरेको हो ।

जुलाई १५ बाट कोटा बिरोधी आन्दोलनमा ३०० बढीको ज्यान गइसकेको छ भने आइतबार एकै दिन ९० जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेसँगै बंगलादेशका सेनाले सबै दल समेटेर अन्तरिम सरकार बनाउने घोषणा गरेकाे छ । हसिनाले राजीनामा दिएपछि पत्रकार सम्मेलन गरेका सेना प्रमुख जनरल वाकर उज जमानले हिंसा अन्त्य गर्न आग्रह गर्दै अन्तरिम सरकार गठनका लागि दलहरूसँग छलफल भइरहेकाे उल्लेख गर्नुभएकाे हाे ।

Facebook Comments