राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको मारमा नेपाल र माल्दिभ्सजस्ता देश परेकाले यस विषयमा द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्ताहरुमा सहकार्य गर्नुपर्ने बताउनुभएको छ ।

राष्ट्रपति पौडेल र गणतन्त्र माल्दिभ्सका उहाँका समकक्षी डाक्टर मोहम्मद मुइजुसँग बाकुमा मङ्गलबार भएको भेटवार्तामा उहाँले सो आग्रह गर्नुभएको हो ।

“ जलवायु परिवर्तनको मारमा हामी दुवै राष्ट्र परेका छौं, तसर्थ यस विषयमा हामीले द्विपक्षीय सहकार्यलाई सुदृढ गरी जलवायु वार्तामा सहकार्य गर्ने र हाम्राजस्ता देशका लागि वित्तीय तथा प्राविधिक सहयोगका लागि संयुक्त प्रयास गर्नुपर्छ भन्ने मलाई लाग्छ”, उहाँले भन्नुभयो ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को संस्थापक सदस्यका रूपमा नेपाल र माल्दिभ्सले दक्षिण एसियामा क्षेत्रीय सहयोगको विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको राष्ट्रपति पौडेलको भनाइ थियो ।

उहाँले नेपाल सार्कका क्रियाकलाप अगाडि बढाउन प्रयासरत रहेको र यसमा सबै सदस्य राष्ट्रको सहयोगको अपेक्षा गर्ने बताउनुभयो ।

काठमाण्डौ र मालेबीच सम्पर्क सञ्जाल विस्तार गर्न गर्न आवश्यक रहेको तथा माल्दिभस्बाट नेपाल भ्रमणमा आएर पर्यटकहरूले यहाँ विशिष्ट अनुभवहरू आर्जन गर्न सक्ने अवस्था रहेको बताउँदै राष्ट्रपति पौडेलले दुवै देशको आर्थिक विकासमा सघाउ पुग्नेगरी नेपालको हिमाल र माल्दिभ्सका सुन्दर टापुलाई पर्यटकीय गन्तव्यका लागि लागि प्याकेजसहित प्रबद्र्धन गर्न सकिने विचार व्यक्त गर्नुभयो ।

नेपाल र माल्दिभ्सबीच १ अगष्ट १९८० मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । भेटवार्तामा माल्दिभ्सका राष्ट्रपति डाक्टर मोहम्मद मुइजुले जलवायु परिवर्तनको असर न्यूनिकरणमा माल्दिभ्स नेपालसहित विश्वसँगै मिलेर काम गर्न तयार रहेको बताउनुभएको थियो ।

राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई मंगलबार नै सम्बोधन गर्नुभएको थियो ।

सो क्रममा उहाँले पृथ्वीमा हिमालको महत्व अधिक रहेको धारणा व्यक्त गर्नुभएको थियो । हिमाल लगायत प्राकृतिक संशाधनको उचित संरक्षणमा विश्वले ध्यान दिनुपर्ने उहाँको धारणा थियो ।

यही कात्तिक २६ गतेबाट शुरु भएको सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ ।

सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल कतारको दोहा.हुँदै सोमबार गणतन्त्र अजरबैजानको राजधानी शहर बाकु पुग्नुभएको हो ।

Facebook Comments