जलनपीडितको निःशुल्क उपचार हुने, मन्त्रीप्रति पीडित कृतज्ञ

जलन पीडितको उपचारका लागि बेग्लै वार्ड तथा नसक्नेहरुका लागि निःशुल्क उपचारको व्यवस्था गरिदिएको भन्दै जलनपीडितहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् ।

मन्त्रालयमा गएका जलन उपचार अभियन्ता उज्वलविक्रम थापा, सांसद विन्द्यवासिनी कंशकारसहितका जलनपीडितहरुले विगतमा पटक पटक उठाउँदै आए पनि जलनपीडितका पक्षमा महत्वपूर्ण निर्णय गरेको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिएका हुन् ।

आफैं जलनपीडित सांसद कंशाकारले भन्नुभयाे, ‘विगतमा मैले धेरै स्वास्थ्य मन्त्रीसँग भेटेर कुरा गरें । संसदमा प्रस्ताव पनि दर्ता गराएँ । तर सुनुवाइ भएको थिएन । तर, अहिले स्वास्थ्य मन्त्रीज्यूले हामीले लामो समयदेखि उठाएको जलनपीडितका पक्षमा निर्णय गरिदनुभयो । यहाँलाई धन्यवाद ।’

जलन पीडितको उपचारका पक्षमा आवाज उठाउँदै आएका अभियन्ता थापाले समस्या धेरै भए पनि अहिले नसक्नेका लागि निःशुल्क उपचार र जलन वार्ड विस्तार महत्वपूर्ण निर्णय भएको बताउनुभयाे । ‘अहिलेसम्म कसैले सम्बोधन नगरेको विषयमा चाँडै नै मन्त्रीज्यूले गर्नुभएको निर्णय महत्वपूर्ण छ,’ उहाँले भन्नुभयाे, ‘अब जलनका घटना नहुन् भनेर सजगता अपनाउन ध्यानाकर्षण गर्दछु ।’

उहाँले रसायन प्रयोग गर्ने सुनचाँदी लगायतका प्रतिष्ठानका कर्मचारीको बिमा गराउन सकिए एसिड दुर्घटना हुँदा राहत पुग्ने बताउनुभयाे।

मन्त्री पौडेलले कस्मेटिक उपचारमा महँगो शुल्क भन्ने गुनासो समाधान गर्नसमेत अनुगमन र नियमन गर्ने बताउनुभयाे ।

Facebook Comments