बीआरआई सम्झौताबारे यथार्थ जानकारी दिनुपर्छः जसपा

जनता समाजवादी पार्टी (जसपा) नेपालले बीआरआई सम्झौताबारे यथार्थ जानकारी दिनु सरकारसँग माग गरकेाे छ ।

जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताउनुभएकाे हाे ।

उहाँले नेपाल पक्षले ग्रान्ट फाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चीनिया पक्षले संशोधन गरी एसिस्टेन्ट फाइनान्सीङ मोडालिटी बनाएको तर अन्तमा एड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी गराउनुपर्ने बताउनुभयाे ।

मुलुकहरुबीच आवश्यक्ताअनुसार विभिन्न विषयमा सन्धिसम्झौता हुन सक्छ । सन्धिसम्झौता मुलुकको हितलाई मध्यनजर राखेरै गरिएको हुन्छ तर कहिलेकाही सन्धिसम्झौताको परिणाम अपेक्षीत हुँदैन भने कहिलेकाही प्रत्युत्पादकसमेत बन्न जाने उहाँको भनाइ छ ।
बस्नेतले बिभिन्न मुलुक र नेपालवीच आजसम्म भए गरेका अधिकांश सन्धिसम्झौताप्रति जनताको धारणा सकारात्मक बन्न नसकेकाे जिकीर गर्नुभएकाे छ ।

उहाँले सन्धिसम्झौताकै कारण मुलुक अमूक शक्ति राष्ट्रको पञ्जामा पर्ने, राजनीतिक रुपमा ध्रुवीकरणहरु बन्ने तथा बदलिने, आन्तरिक रुपमा दलहरु विभाजन हुनेसम्मका घटना हुने गरेकाे समेत उल्लेख गर्नुभयाे ।

चीनसँग भएको बीआरआई सम्झौता उपयुक्त भएनभएकोबारे सार्वभौम संसदमा छलफल गरिनुपर्ने र जनताका लागि गरिएका भनिएका सन्धिसम्झौतालाई जनताबाट नै अनुमोदन गर्नुपर्ने कुरामा उहाँकाे जाेड छ ।

Facebook Comments