भारत महाराष्ट्र रेल दुर्घटना: ७ जना नेपालीकाे मृत्यु
भारत महाराष्ट्रमा बुधबार भएकाे रेल दुर्घटनामा परी निधन भएकाे मध्ये ७ जना नेपाली रहेकाे खुलेकाे छ ।
महाराष्ट्रको जलगाउँ जिल्लाको पारधाडे तालुका पाचोरामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने ७ जना नेपालीमध्ये २ जनाकाे भने सनाखत हुन बाँकी रहेकाे छ ।
सनाखत भएकामा ४ जना अछामका र एक जना कैलालीका रहेकाे छन् ।
मृत्यु हुनेमध्ये अछामका पञ्चदेवल विनायक नगपालिका–४ का नन्दाराम विक, उनकी श्रीमती मैसरा र छोरा हिमु तथा कलबजार नगरपालिका–४ चाल्साकी ६० वर्षीया जयकला कामी छन् । कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टाकी ४३ वर्षीया कमला भण्डारी छिन् । यस्तै, डुडुवा, बाँकेका राधेश्याम राध र नारायणपुर मात्र ठेगाना खुलेका लच्छिराम पासी छन् ।

साेही दुर्घटनामा परेर ३ जना नेपाली घाइते छन् । घाइते हुनेमा अछाम मंगलसेनका ह्युजला सावन्त र धर्मबहादुर सावन्त तथा दैलेखका दीपक थापा र मञ्जु परियार रहेका छन् । उनीहरूकाे उपचार भइरहेको छ ।
महाराष्ट्र राज्यस्थित जलगाउँमा बुधबार साँझ लखनउबाट मुम्बई जाँदै गरेको पुष्पक एक्सप्रेसमा आगो लागेकाे हल्ला चलेपछि यात्रुहरू एकाएक रेलबाट हाम फालेका थिए ।
पुष्पक एक्सप्रेसमा सवार यात्रुले रेलको पांग्राबाट धूवाँ निस्किएपछि सम्भावित आगलागीको डरले यात्रुहरू लिकमै हाम फालेका थिए । लिकमा हाम्फालेकाहरू विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको कर्नाटक एक्सप्रेसको रेलले ठक्कर दिंदा घाइते तथा मृत्यु हुन पुगेकाे हाे ।


