विद्यालय शिक्षा विधेयकमाथि संसदीय समितिमा दफाबार छलफल

संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत उपसमितिमा विद्यालय शिक्षा विधेयकमाथिको छलफल जारी रहेकाे छ । विधेयककाे १६३ मध्ये २७ दफामा समितिले सहमति जुटाएको छ ।

१६३ दफा रहेको विधेयकका २७ वटा दफामा छलफल गरेर सहमति जुटाएको एक सांसदले जानकारी दिए ।

शिक्षा समितिले दफामाथि छलफल गरेर सहमति जुटाउने प्रतिनिधिसभा सदस्य  छविलाल विश्वकर्माको संयोजकत्वमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । चैत ८ गते गठन गरिएको समितिले विधेयकमाथि दफावार छलफल गर्दै सहमति जुटाउँदै आएको हो । 

भोलि परिच्छेद ४ मा रहेको परीक्षा सञ्चालन तथा व्यवस्थापनअन्तर्गत दफामा छलफल हुने बताइएकाे छ । 

उपसमितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, शिक्षा मन्त्रालयका सचिव तथा अन्य कर्मचारी, कानून मन्त्रालयका अधिकारीहरूको उपस्थितिमा छलफल भइरहेको हो । 

उपसमितिमा विवादित विषय र संविधानसँग बाझिएका विषयमा थप छलफल गरेर उच्च तहमा सहमति खोज्ने भन्दै ति विषयलाई थाती राखेर सहमति हुन सक्नेमा सहमति गर्दै छलफल अगाडि बढेकाे छ ।

यही विधेयक सम्बन्धित रहेर देशभरका शिक्षकहरू आन्दोलित छन् ।

नेपाल शिक्षक महासंघले विभिन्न २२ बुँदे अघि सारेर आन्दोलन गर्दै आएको छ । गत वर्ष महासंघसँग भएको सहमति समावेश गर्दै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने शिक्षकहरूकाे माग रहेकाे छ ।

Facebook Comments