दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतकाे अनुमति

आवश्यकताअनुसार उपचारको प्रबन्ध गर्नुपर्ने

काठमाडाैं जिल्ला अदालतले तीनकुनेको हिंसात्मक घटनाका मुख्य नेतृत्वकर्ता दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएकाे छ ।

आवश्यकताअनुसार उपचारको प्रबन्ध गरी अनुसन्धान गर्न अदालतले आदेश दिएको छ।

शुक्रबार प्रहरीले काकडभिट्टाबाट नियन्त्रणमा लिएर प्रसाईंलाई काठमाडौं ल्याएर म्याद थपका लागि अदालत उपस्थित गराएको थियो।

प्रसाईंसहित निजका बडिगार्ड भनिएका दीपक खड्कामाथि राज्यविरूद्धको कसुरमा अनुसन्धान गर्न अदालतले १२ दिनको म्याद थप गरेको हो।

न्यायाधीश शिशिरराज ढकालको इजलासले दुवैलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिनुभयाे ।

चैत १५ गते तीनकुनेमा प्रसाईंकै नेतृत्वमा भएको हिंसात्मक प्रदर्शन २ जनाकाे मृत्यु भएकाे थियाे भने दर्जन बढी भवन र सवारी साधनमा तोडफोड र आगजनी भएको थियो।

प्रसाईं सोही दिनदेखि फरार भइ भारतकाे विभिन्न स्थानमा लुकेकाे तथ्य खुलेकाे थियाे ।

यसैवीच राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले आफ्नो सङ्गठनका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न आग्रह गरेको छ । शुक्रबार महाअभियानका सङ्गठन विभागका सचिव प्रेमदिप लिम्बुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गर्नुभएकाे हाे ।

Facebook Comments