उच्च पदस्थकाे सम्पत्ति छानविनका लागि जाँचबुझ आयोग गठन
सरकारले सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले २०६२ साल पछाडि उच्च राजनीतिक तथा प्रशासनिक पदमा जिम्मेवारी निभाएका उच्चपदस्थहरूकाे सम्पत्ति छानबिन गर्न न्यायिक आयोग गठन गरेकाे हाे ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सर्वोच्च अदालतका पूर्वन्यायाधीश राजेन्द्रसिंह भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय आयोग गठन गर्ने निर्णय लिएकाे सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पाेखरेलले जानकारी दिनुभयाे ।
आयोगमा पुनरावेदन अदालतबाट अवकाश भएका न्यायाधीशहरू पुरुषोत्तम पराजुली र चण्डीराज ढकाल छन् । नेपाल प्रहरीका पूर्वडिआईजी गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साललाई आयोगको सदस्य तोकिएको छ ।
सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहनेगरी सम्पत्ति जाँचबुझ समिति बनाउने भनेपनि शक्तिशाली जाँचबुझ आयोग ने गठन गरेकाे हाे ।
आयोगले २०६२ पछि हालसम्म राजनीतिक एवं प्रशासनिक दुवै तर्फ उच्च पदमा जिम्मेवारी लिएका सबैकाे सम्पत्ति जाँच गरी सरकार समक्ष सिफारिश गर्नेछ ।

