माैसमः ६ प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।
जल तथा माैसम विज्ञान, माैसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ ।
त्यस्तै मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अन्य केही भू-भागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएकाे छ।
शुक्रबार राती कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा तथा बाँकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाले रातकाे समयमा कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

