लेबनान र इजरायल १० दिने युद्धविराममा, अमेरिका-इजरायल र इरानबीचकाे युद्ध अन्त्यका लागि प्रयास जारी

लेबनान र इजरायलबिच १० दिने युद्धविरामका लागि सहमत भएका छन् । युद्धविराम बिहीबारदेखि नै लागू भएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि अनाैपचारिक वार्ता भइरहेकाे छ।

वार्ता यसै साताको अन्त्यमा हुन सक्ने बताउँदै इरानसँगको युद्ध पनि अन्त्यको नजिक पुगेको ट्रम्पकाे दाबी छ ।

ट्रम्पले युद्ध निकै चाँडै अन्त्य हुनुपर्ने समेत बताउनुभएकाे छ ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलको आक्रमणबाट सुरु भएको इरानसँगको युद्धमा हजारौँको ज्यान गइसकेको छ भने विश्वभर तेलको मूल्य अकासिएको छ ।

लेबनानको युद्धविरामले इरानसँगको बृहत् शान्ति सम्झौताको बाटो खुला गरेमा त्यो ट्रम्प प्रशासनका उपलब्धि हुनेछ । ट्रम्प प्रशासन हालसम्म रणनीतिक रूपमा महत्त्वपूर्ण मानिएको स्ट्रेट अफ होर्मुज खुलाउन र इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्न सङ्घर्षरत छ । 

हिजबुल्लाहले बिहीबार रातभर इजरायलविरुद्ध गरेका सैन्य कारबाहीको लामो विवरण सार्वजनिक गरेको छ ।

ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र लेबनानी राष्ट्रपति जोसेफ आउनसँग कुरा भएकाे र अर्थपूर्ण वार्ताका लागि ह्वाइट हाउसमा निमन्त्रणा गर्ने योजना रहेको बताउनुभएकाे छ ।

यदि पाकिस्तानको इस्लामाबादमा इरानसँगको सम्झौतामा हस्ताक्षर हुने अवस्थामा ट्रम्प आफै इस्लामावाद पुग्न सक्ने बताइएकाे छ ।

तर इरानले भने स्थायी युद्धविराम र भविष्यमा अमेरिका तथा इजरायलले पुनः आक्रमण नगर्ने संयुक्त राष्ट्रसङ्घको ग्यारेन्टी खाेजिरहेकाे बिबिसीले जनाएकाे छ ।

Facebook Comments