प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीकाे मस्याैदा विवादमा !
प्रतिनिधि सभा कार्यसञ्चालन नियमावली मस्यौदा समितिले तयार पारेको नयाँ नियमावलीको मस्यौदा विवादमा तानिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुली नेतृत्वको मस्यौदा समितिले मंगलबार तयार पारेको मस्यौदा सभामुख डोलप्रसाद अर्याललाई बुझाएसँगै यसभित्रका केही बुँदाहरूलाई लिएर असन्तुष्टि देखिएको हो ।

मस्यौदा समितिका सभापति रास्वपाकै सांसद हुनु र नियमावलीका बुँदाहरूले फौजदारी अभियोग लागेका सांसदहरूलाई ‘राहत’ दिने गरी बनाइनुलाई विपक्षी दलका केही सांसदहरूले रास्वपाका सभापति रवि लामिछानेलाई कानुनी कारबाहीबाट जोगाउने खेलका रूपमा अर्थ्याएका छन् ।
मस्यौदा गरिएको नियमावलीको नियम २५९ मा ‘नियमावली लागू हुने’ शीर्षकअन्तर्गत एउटा विशिष्ट व्यवस्था गरिएको छ । जसमा भनिएको छ, ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली सङ्घीय कानूनको रूपमा रही विशेष कानूनसरह लागू हुनेछ ।’
उल्लेखित बुँदा रास्वपा सभापति लाई कानुनी कारबाहीबाट जोगाउन राखिएकाे बुझाई छ ।

