माैसमः ३ प्रदेशका केही स्थानमा मध्यम वर्षा र हिमपातकाे सम्भावना, पश्चिम तराई ताताे हावाकाे लहर चल्न सक्ने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको उल्लेख छ ।
विहीबार दिउँसाे देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भाग आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
त्यस्तै कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा गर्मी बढ्ने सम्भावना रहेको जनाएकाे छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो हावाकाे लहर चल्न सक्ने महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार विहीबार राती कोशी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा आंशिक बादल लाग्ने र बाँकी हिमाली, पहाडी र तराई भू-भागमा मौसम मूख्यतया सफा रहने जनाएकाे छ ।
महाशाखाले कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएकाे छ ।

