माैसमः ४ प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना, पश्चिम तराईमा गर्मी बढ्ने
आज देशभरको मौसममा आंशिक बदलीदेखि सामान्य बदलीसम्म रहने सम्भावना रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानदेखि नै देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने तराई भू-भागमा आंशिक बदली रहेको छ ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू-भाग र देशका बाँकी हिमाली क्षेत्रमा थोरै स्थानहरूमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
साेमबार दिउँसाे कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्ने साथै मधेश प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत कर्णाली र सुदुरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
महाशखाले लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने गर्मी बढ्ने सम्भावना रहेको जनाएकाे छ ।
साेमबार राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी र तराई भू-भागमा आंशिक बादल लाग्ने महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार साेमबार रातकाे समयमा कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग लगायत देशको बाँकी हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

