प्रधानन्यायाधीशमा सिफारिस शर्मामाथि संसदीय सुनुवाइ हुने
प्रधानन्यायाधीशमा सिफारिस डा. मनोज कुमार शर्मामाथि संसदीय सुनुवाइ हुने भएकाे छ । सुनुवाइका लागि आज बिहान ८ बजे संसदीय समितिको बैठक बस्ने छ ।
विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्ने बैठकमा डा. शर्मा उपर परेका उजुरी खोल्ने र कार्ययोजना वितरण गर्ने कार्यसूची समावेश छ ।
२४ वैशाखमा बसेको संवैधानिक परिषद बैठकले सर्वोच्च अदालतका चौथो वरियताका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो ।
प्रधानन्याधीशमा सिफारिश हुने न्यायधीशले संसदीय सुनुवाइको प्रक्रिया पूरा गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने कानुनी व्यवस्था छ ।
वरियता मिचेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएपछि कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित सर्वोच्चका कतिपय न्यायाधीशहरु र कानुन व्यवसायीहरु विरोधमा छन् ।
संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने राष्ट्रियसभा अध्यक्ष र प्रतिपक्षी दलका नेताले पनि सिफारिसमा फरक मत राखेका थिए ।

