समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि बढाैंः राष्ट्रपति पाैडेल

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी भइसकेकाले अव समुन्नत राष्ट्र निर्माणका लागि एकतावद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएकाे छ ।

राजनीतिक अधिकार प्राप्त भइसकेकाे र यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा भएको राष्ट्रपति पाेडेलेकाे भनाई छ ।

राष्ट्रपति पौडेलले १९औँ गणतन्त्र दिवस २०८३ का अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै भन्रुभयाे, ‘गणतन्त्रले हामीलाई सम्पूर्ण राजनीतिक अधिकारको ग्यारेन्टी दिएको छ, यसले हामीलाई समुन्नत भविष्यका लागि एकतावद्ध भएर अगाडि जाने अवसर पनि दिएको छ, यसले देशवासीलाई जोडेको छ र एक साझा राष्ट्र बनाउने संकल्पका लागि अभिप्रेरित गरेको छ, किनभने यसले हामीलाई आफ्नो जाति, भाषा, धर्म, सम्प्रदाय, सभ्यता र भूमीको स्वामित्व दिएको छ, त्यसैले यो हाम्रा लागि राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो।’

राष्ट्पति पाैडेलले गणतन्त्रको मर्यादालाई बचाउन र यसलाई अझ सम्बृद्ध बनाउन हामी सबै राजनीतिक निष्ठा, मूल्यमान्यता एवम् आचरणमा परिवर्तनसहित एकतावद्ध भएर लाग्नपर्ने बताउनुभएकाे छ । उहाँले गणतन्त्र फगत एक व्यवस्था होइन, यो  आचरणशील राजनीतिक, आर्थिक र सामाजिक जीवन पद्धति समेत रहेकाे उल्लेख गर्नुभयाे ।

‘यसका आफ्नै मूल्यमान्यता र नैतिक दायराहरू हुन्छन्, त्यसलाई विर्सिएर हामीले इतिहासको अभिभारा पूरा गर्न सक्दैनौं, आजको दिनले हामीलाई सामाजिक न्याय, विकास र सम्वृद्धिसहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उच्चतम् र सार्थक अभ्यासमा अगाडि बढ्न तथा राजनीति, राज्य र राजकाजलाई नैतिकता, निष्ठा र मूल्यमान्यताको सीमाभित्र आवद्ध गर्न प्रेरणा देओस्’, उहाँले भन्नुभयाे ।

गणतन्त्र दिवसका अवसरमा प्रधानमन्त्रीले सम्बाेधन गर्ने परम्परा भएपनि यसपटक प्रधानमन्त्री बालेन्द्र शाहले सम्बाेधन नगरी राष्ट्रपतिलाई सम्बाेधन गर्नुभएकाे हाे । समाराेहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री लगायत राजनीतिक दलका उच्च पदस्थ नेतागण, उच्चपदस्थ कर्मचारीहरू, कुटनीतिक नियाेगका प्रतिनिधिहरूकाे उपस्थिति रहेकाे थियाे ।  

Facebook Comments