अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सहमति

 अमेरिका र इरान हाल चलिरहेको युद्ध अन्त्य गर्ने सहमत भएका छन् । दुवै देशका अधिकारीहरू एउटा प्रारम्भिक सहमतिमा पुगेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

आइतबार भएको यस सहमतिमा अमेरिकाले इरानमाथि लगाएको नाकाबन्दी हटाउने र स्ट्रेट अफ होर्मुज पुनः खुला गरिने उल्लेख छ ।

यस प्रारम्भिक सम्झौतासँगै विश्वबजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ तर इरानको परमाणु कार्यक्रमको भविष्य भने आगामी वार्ताहरूबाट मात्रै टुङ्गो लाग्नेछ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको स्थानीय समयअनुसार आइतबार साँझ साढे ५ बजे आफ्नो सोसल मिडिया प्लेटफर्म ‘ट्रुथ सोसल’मा इस्लामिक गणतन्त्र इरानसँगको सम्झौता अब पूरा भएको उल्लेख गर्नुभएकाे थियाे ।

वार्तामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नुभएका पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले पनि साेमबार बिहानै सम्झौता भएको घोषणा गर्नुभएकाे थियाे । यो समझदारी पत्रमा आगामी शुक्रबार स्विट्जरल्यान्डमा औपचारिक रूपमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ।

यसैबिच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले एक विज्ञप्ति जारी गर्दै लेबनानसहित सबै मोर्चाहरूमा युद्ध अन्त्य भएकाे जनाएकाे छ । विज्ञप्तिमा सोमबार रातिदेखि युद्ध र सैन्य कारबाही स्थायी रूपमा अन्त्य हुने उल्लेख छ ।

अमेरिका-इरान वार्तामा आफू संलग्न नरहेको बताउँदै आएको इजरायलले भने यस घोषणाप्रति तत्काल कुनै प्रतिक्रिया जनाएको छैन।

Facebook Comments