माैसमः मधेश बाहेक अन्य प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा गर्मी बढ्ने

मौसम पूर्वानुमान महाशाखाले साेमबार बिहान जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको उल्लेख छ।

हाल कोशी प्रदेशको तराईमा साधारणतया बादल तथा बाँकी हिमाल, पहाड र तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा भइरहेको महाशाखाले जनाएकाे छ ।

महाशखाले साेमबार दिउँसाे देशको हिमाली भू-भागमा साथै कोशी प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लाग्ने जनाएकाे छ । त्यस्तै देशको पहाडी भू-भागमा र मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती ,गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा  तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले काेशी प्रदेशको तराईका थोरै स्थानहरूमा, मधेश प्रदेश तथा बागमती र गण्डकी प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा पनि मेघगर्जनर चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा गर्मी बढ्ने पनि महाशाखाले जनाएकाे छ ।

साेमबार राती काेशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बादल लाग्ने, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको  हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसा कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपात तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेकाे छ । त्यस्तै कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा तथा मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे बुलेटिनमा उल्लेख छ ।

Facebook Comments