माैसमः लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा गर्मी बढ्ने
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभागका अनुसार हाल मौसमको अवस्थामा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग साथै मधेश प्रदेशमा साधारणतया बादल लागेको छ ।
त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने अन्य भू-भागमा मौसम मूख्यतया सफा रहको छ । महाशाखाका अनुसार कोशी, मधेश र बागमती प्रदेशको एक-दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
महाशाखाले बुधबार दिउँसाे लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा गर्मी बढ्ने जनाएकाे छ।
महाशाखाले जारी गरेकाे माैसम पूर्वानुमान बुलेटिनमा बुधबार दिउँसाे देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ ।
महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ।
महाशाखाका अनुसार कोशी प्रदेशको तराईका थोरै स्थानहरू तथा तथा मधेश प्रदेशको पनि एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
बुधबार रातकाे समयमा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भाग, लुम्बिनी प्रदेशको हिमाली भू-भाग, कोशी प्रदेशका तराई भू-भागमा साधारणतया बादल तथा अन्य तराई भू-भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थान तथा काेशी प्रदेशका तराइ क्षेत्रमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागमा हल्का हिमपातकाे पनि संभावना रहेकाे महाशाखाले जनाएकाे छ ।

