रास्वपाको प्रथम महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहले उद्दघाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन आजदेखि सुरु हुने भएको छ । चितवनकाे भरतपुरको गेस्टहाउस चौरमा हुने महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय भएकाे छ ।
महाधिवेशनलाई व्यवस्थित र प्रतिनिधिमूलक बनाउन आवश्यक अधिकांश व्यवस्थापनको काम पूरा भएको रास्वपाले जनाएकाे छ ।
रास्वपाका प्रवक्ता मनिष झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोटको प्रक्रिया पूरा भइ अधिकांश प्रतिनिधिहरू महाधिवेशनस्थल पुगिसकेका छन् ।
महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायत काम सकिएको छ ।
१८ उपसमिति बनाएर अधिवेशनको कामलाई बाँडफाँट गरिएकाे र महाधिवेशनकाे तयारी पुरा भएकाे प्रवक्ता झाले जानकारी दिनुभयाे ।
महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक, आर्थिक, साङ्गठनिक विधानसहितका प्रतिवेदन तयार भइसकेका छन् । शनिबार चितवनमा बसेको केन्द्रीय समितिले महाधिवेशनमा पेस गर्ने विधान संशोधन गरिसकेको छ ।
भरतपुरमा बसेको केन्द्रीय समितिको बैठकले पार्टीको संरचनासमेत संशोधन गरेको छ । सचिवालयले विधान परिवर्तन गरेर १५१ सदस्यीय केन्द्रीय सदस्य बनाउने प्रस्ताव गरेको छ ।
बैठकले पार्टी विधानमा वरिष्ठ नेतासहित पदाधिकारीमा महिलाको सहभागितालाई सुनिश्चित गर्नेगरी विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
यसैवीच रास्वपाको महाधेविशेनस्थल जलमग्न भएको छ।
गएरातिको वर्षाका कारण महाधिवेशनको उद्घाटनस्थल चितवनको गेस्ट हाउस चउरमा पानी जमेको हो । अहिले त्यहाँ मोटर लगाएर जमेको पानी हटाउने काम भइरहेको छ।
महाधिवेशनको उद्घाटन आइतबार दिउँसो १ बजे हुनेछ।

