माैसमः बुधबारसम्म देशैभर मनसुन बिस्तार हुने
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाले हाल देशैभर मनसुन बिस्तार हुने क्रममा रहेकाे जनाएकाे छ । बुधबारसम्ममा देशैभर मनसुन फैलने महाशाखाले उल्लेख गरेकाे छ ।
मनसुन विस्तार हुन बाँकी रहेका गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा ३-४ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको छ।
महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ ।
आइतबार दिउँसाे देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आंशिक बादल लाग्नेछ ।
महाशाखाले कोशी प्रदेशका केही स्थानमा, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे जनाएकाे छ।
महाशाखाले मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा तथा सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।
मनुसुनकाे प्रभाव विस्तार हुने क्रममा भएपनि सुदूरपश्चिम प्रदेशका तराई भू-भाग तथा लुम्बिनी प्रदेशका पश्चिम तराई क्षेत्रका थोरै स्थानमा भने गर्मी बढ्ने महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार आइतबार राती देशभर साधारणतया बादल लाग्नेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भु-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षा एवं हिमपातको सम्भावना छ ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। रातकाे समयमा कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

