माैसमः चार प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदर भन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ ।

महाशाखाले देशभर साधारणतया बादल लागेको, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भैरहेको उल्लेख गरेकाे छ ।

बुधबार दिउँसाे देशभर साधारणतया बादल लाग्नेछ । महाशाखाले देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका केही स्थानमा, मधेश प्रदेश साथै  बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

महाशखाले कोशी प्रदेशको पहाडी र तराई भूभाग, बागमती र गण्डकी र सुदुरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गरेकाे छ ।

साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । 

बुधबार राती देशभर अधिकांश बादल लाग्नेछ भने देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।

महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र तराई भू-भागका धेरै स्थानमा, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भु-भाग, साथै लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भु-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे जनाएकाे छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भाग तथा मधेश प्रदेशको  एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।  त्यस्तै मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ । 

Facebook Comments