धैर्य र संयमता अपनाइ शान्ति कायम गर्न प्रधानमन्त्रीकाे अपिल

प्रधानमन्त्री बालेन्द्र शाहले धैर्य र संयमता अपनाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभएकाे छ ।

विहीबार साँझ देसबासीकाे नाममा सम्बाेधन गर्दै प्रधानमन्त्री शाहले सुनसरीको देवानगन्ज, सिराहा लगायतका स्थानमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै संयम हुन सम्पूर्ण नागरिकलाई अपिल गर्नुभएकाे हाे ।

आम नागरिक, नागरिक समाज, धार्मिक अगुवा, राजनीतिक दल र सञ्चारमाध्यमलाई धैर्य र संयमता अपनाएर शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न अपिल गर्नुभयाे ।

सुनसरीमा केही दिनअघि भएको दुःखद घटना र त्यसपछि उत्पन्न अशान्त वातावरणप्रति सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको प्रधानमन्त्रीले सम्बाेधनमा उल्लेख गर्नुभएकाे छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभयाे ।

घाइतेहरूको उपचारमा कुनै कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकेको पनि प्रधानमन्त्रीले उल्लेख गर्नुभएकाे छ ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको र निष्पक्ष छानविन हुने समेत प्रधानमन्त्रीले बताउनुभयाे ।

शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने र सयौं वर्ष पुरानो सामाजिक सद्भाव खल्बल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने उहाँकाे भनाइ थियाे ।

Facebook Comments