माैसमः देशभर मनसुनी वायुकाे प्रभाव
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केेही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको पनि उल्लेख गरेकाे छ ।
महाशाखाका अनुसार पछिल्लो १२ घण्टाको पानीको विवरण हेर्दा सबैभन्दा धेरै कपिलवस्तु जिल्लाको वाणगंगा केन्द्रमा १०१ मिलिमिटर पानी परेको छ । त्यस्तै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको धेरै स्थान तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा पानी परेको छ।
बुधबार दिउँसाे देशभर साधारणतया बादल लाग्ने तथा देशको हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहने महाशाखाले जनाएकाे छ ।
त्यस्तै देशका पहाडी भू-भागका धेरै स्थानमा तथा तराई भू-भाग केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
महाशाखाका अनुसार कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भाग तथा गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यस्तै रातकाे समयमा पनि देशका हिमाली भू-भागका केही स्थानमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग साथै मधेश प्रदेशका धेरै स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भू-भाग र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेकाे छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले उल्लेख गरेकाे छ ।

