बाढी पहिराेले विभिन्न जिल्लामा राजमार्ग र सडकखण्ड अवरुद्ध
केही दिनदेखि जारी अविरल वर्षाका बाढी पहिराेका घटना भइरहेका छन् । जसले गर्दा जनधनकाे क्षतिका साथै देशका विभिन्न मुख्य राजमार्ग र सडक खण्डहरू अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लाे तथ्याङ्क अनुसार बाढी र पहिरोका कारण धेरै स्थानमा सडक पूर्ण रूपमा बन्द भएका छन् भने केही स्थानमा एकतर्फी मात्र सञ्चालनमा रहेका छन् ।


प्रहरीका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-५ मा पृथ्वी राजमार्गमा आज बिहान ५:३५ बजे पहिरो खसेका कारण यो राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै सिन्धुपाल्चोकमा अरनिको राजमार्गकाे भोटेकोशी क्षेत्रका चारकिलो, कोदारी र लिपिङमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ।
कान्ति लोकपथकाे ललितपुरको बागमती गाउँपालिका-३ पाण्डुर र मकवानपुरको ठिंगन खण्डमा पहिरोका कारण आवतजावत ठप्प छभने जाेखिम रहेकाले मकवानपुर खण्डमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएकाे छ।
ईलाममा मेची राजमार्गकाे राजदुवाली क्षेत्रमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ भने सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै विपी राजमार्गमा पर्ने काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी खण्डमा राति १८:०० बजेदेखि बिहान ०४:०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
मध्य पहाडी लोकमार्ग अन्तर्गत पूर्वी रुकुमको भुमे गाउँपालिकामा एवं कालीगण्डकी कोरिडोर अन्तर्गत बागलुङको बेलबगर र पाल्पाको निस्दी क्षेत्रमा पहिरो र बाढीका कारण सडक बन्द रहेकाे छ।
प्रहरीले कर्णालीमा भेरी कोरिडोर (रुकुम पश्चिम), नाग्म-गमगढी सडक (मुगु) र नाग्म सडक खण्ड (जुम्ला) मा बाढी र पहिरोले गर्दा सवारी सन्चालन अवरूद्ध बनेकाे जनाएकाे छ।

