मुस्ताङमा शंकास्पद कन्टेनरसहित आठ जना चालक प्रहरी नियन्त्रणमा

मुस्ताङकाे घरपझोङ गाउँपालिका-४ जोमसोमस्थित पर्यटक चेकपोष्टबाट शंकास्पद कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

शनिबार दिउँसो अन्दाजी १२:०० बजे जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले अवैध वस्तु ओसारपसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जोमसोम पर्यटक चेकपोष्टमा विभिन्न कन्टेनरका कागजपत्र जाँच तथा चालकहरूसँग सोधपुछ गरेको थियो ।

जाँचका क्रममा उक्त सवारीसाधनहरू भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने शंका देखिए पछी कन्टेनर तथा चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी टोली खटाई राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको हाे ।

समातिएका कन्टेनर र चालककाे विवरण

१. ना ६ ख ४७४१ नम्बरको कन्टेनर र चालक धार्के गाउँपालिका–२, धादिङका ३० वर्षीय ईश्वर थापा ।

२. को १ ख ५६९६ नम्बरको कन्टेनर र चालक शैलुङ गाउँपालिका–३ दोलखाका ४३ वर्षीय रत्नबहादुर तामाङ ।

३. बाप्र ०१००६ ख २२४८ नम्बरको कन्टेनर र चालक भीमेश्वर नगरपालिका–८, दोलखाका २९ वर्षीय उद्धव बस्नेत ।

४. बाप्र ०१००६ ख ६२७३ नम्बरको कन्टेनर र चालक तानसेन नगरपालिका–८, पाल्पाका ३६ वर्षीय धर्मबहादुर नेपाली ।

५. ना३ ख ७१६० नम्बरको कन्टेनर र चालक भोटेकोशी गाउँपालिका–२ सिन्धुपाल्चोकका ३५ वर्षीय कर्म शेर्पा ।

६. ना ६ ख २०२२ नम्बरको कन्टेनर र चालक जुगल गाउँपालिका–५ सिन्धुपाल्चोकका ३३ वर्षीय निरोज नेपाली ।

७. बाप्र ०१००६ ख ६६११ नम्बरको कन्टेनर र चालक पाँचखाल नगरपालिका–८, काभ्रेका २३ वर्षीय विशाल तामाङ ।

८. बाप्र ०१–००५ ख २२४५ नम्बरको कन्टेनर र चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ ।

Facebook Comments