राजमार्गमा बाढी पहिराे, १५ जिल्लामा प्रत्यक्ष प्रभाव
अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध हुँदा विभिन्न १५ जिल्लाका सडक खण्डमा सवारी सन्चालनमा प्रत्यक्ष प्रभाव परेकाे छ ।
नेपाल प्रहरीले सोमबार बिहान ६:३० बजेसम्मको विवरण अद्यावधिक गर्दै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका दर्जनौँ सडक खण्ड बन्द रहेको जनाएको छ।
पृथ्वी राजमार्गकाे धादिङ जिल्लाकाे चालिसेमा पहिराे जाँदा सवारी सन्चालन हुन सकेकाे छैन ।
पहिराे हटाएर केहीबेरमा नै सडक सूचारू गर्ने प्रयास जारी रहेकाे प्रहरीले जनाएकाे छ ।
सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको खुर्कोट-नेपालथोक-कटुन्जेबेंसी चल्ने बीपी राजमार्ग र मकवानपुरको हेटौँडा-ठिङ्गन हुँदै ललितपुर आउने कान्ति लोकपथमा रात्रिकालीन सवारी सञ्चालनमा रोक लगाइएको छ।
प्रहरी प्रधान कार्यालले जारी गरेकाे सूचना अनुसार बिपी राजमार्गमा बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म र कान्ति लोकपथमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको’ उल्लेख छ।
यस्तै सिन्धुपाल्चोकको भोटेकोशीस्थित कोदारी र लिपिङमा पहिरोका कारण अरनिको राजमार्ग पूर्ण रूपमा बन्द छ। रसुवाको उत्तरगयास्थित खाल्टेमा बाढीले त्रिशूली-मैलुङ-स्याफ्रुबेंसी सडक खण्ड पनि साउन ८ गतेदेखि नै पूर्ण रूपमा अवरुद्ध छ।
कोशी प्रदेशमा अविरल वर्षाका कारण इलामको राजदुवालीमा मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। सङ्खुवासभाको भोटखोलास्थित सिरेक डाँडामा खाँदबारी-किमाथाङ्का सडक खण्ड पनि पूर्ण रूपमा बन्द छ। भोजपुरको बोखिममा मध्यपहाडी लोकमार्ग भने पहिरो पन्छाएर एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको छ।
गण्डकी प्रदेशअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित रुप्सेमा पहिरो खस्दा बेनी-जोमसोम सडक खण्ड पूर्ण रूपमा बन्द भएको छ।
सोही सडक खण्डको मुस्ताङस्थित कैकु खोलामा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेका छन्।
लमजुङको मर्स्याङ्दीस्थित रामबजारमा पहिरोका कारण बेँसीसहर-मनाङ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध रहे पनि त्यहाँ वैकल्पिक बाटोको व्यवस्था छ।
लुम्बिनी प्रदेशको प्युठानस्थित रुमालेमा साउन ३१ गते खसेको पहिरोले भिंगृ-स्वर्गद्वारी सडक खण्ड अझै पनि पूर्ण रूपमा बन्द गराएको छ।
कर्णाली प्रदेशको रुकुम पश्चिममा बाढी र पहिरोका कारण भेरी करिडोरअन्तर्गत जाजरकोट-डोल्पा सडक खण्ड दुई ठाउँमा अवरुद्ध भएको छ। आठबीसकोटको रिजेगार्ड खोला र पिपलचौरमा सडक पूर्ण रूपमा बन्द भएको हो।
यसैगरी, सल्यानको कपुरकोटस्थित अरिङ्गालेमा पहिरो खस्दा राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको सडक विभाग र प्रहरीको तथ्याङ्कमा उल्लेख छ।



