पाँच प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको उल्लेख छ।

महाशाखाका अनुसार हाल सुदरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बादल एवं कोशी र मधेश प्रदेशमा आंशिक बादल लागेको छ । त्यस्तै सुदरपश्चिम र कर्णालीको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले विहीबार देशभर साधारणतया बादल लाग्ने जनाएकाे छ ।

महाशाखाका अनुसार दिनकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशका  हिमाली भू-भाग तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ | 

त्यस्तै देशको हिमाली र पहाडी भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । महाशाखाले बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे जनाएकाे छ । 

विहीबार राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका केही स्थान तथा  लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएक्ाे छ।

त्यस्तै कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे छ । 

महाशाखाले मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना रहेकाे उल्लेख गरेकाे छ ।

महाशाखाका अनुसार रातकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

Facebook Comments