पाँच जिल्लाका स्थानीय तह ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
नेपाल सरकारले बाढीका कारण अत्यधिक प्रभावित भएका पाँच जिल्ला रसुवा, नुवाकोट, धादिङ, गोरखा र तनहुँका विभिन्न स्थानीय तहहरूलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेकाे छ ।
सरकारकाे निर्णय बमाेजिम उक्त निर्णय राजपत्रमा प्रकाशित गरेको छ ।
गृह मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा ३२ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी यो घोषणा गरेको हो।
नेपाल–चीन सीमास्थित भोटेकोसीमा आएको भीषण बाढीका कारण ती जिल्लाका तल्लो तटीय क्षेत्रका स्थानीय तहहरूमा ठुलो क्षति पुगेकाले यो निर्णय लिइएको राजपत्रमा उल्लेख छ।
यी हुन् सङ्कटग्रस्त घोषित स्थानीय तहहरू:
१, रसुवा : उत्तरगया गाउँपालिका, गोसाइँकुण्ड गाउँपालिका, कालिका गाउँपालिका र आमाछोदिङमो गाउँपालिका।
२, नुवाकोट : विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका र तारकेश्वर गाउँपालिका।
३, धादिङ : गल्छी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका र बेनीघाट रोराङ गाउँपालिका।
४, गोरखा : गण्डकी गाउँपालिका।
५, तनहुँ : देवघाट गाउँपालिका र आँबुखैरेनी गाउँपालिका।
‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा भएपछि ती क्षेत्रहरूमा राहत, पुनःस्थापना र पुनर्निर्माणका कार्यहरूलाई प्राथमिकताका साथ अगाडि बढाउन सरकारलाई कानुनी रूपमा सहज हुनेछ।



