धादिङको कृष्णभीरमा सडक भासियाे, पृथ्वी राजमार्ग अवरूद्ध
अविरल वर्षापछिकाे बाढीले सडक भासिएपछि पृथ्वी राजमार्ग धादिङ खण्ड अवरूद्ध बनेकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि मुग्लिङ–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हाे ।
लगातारको वर्षा र बाढीका कारण सडकको ठूलो हिस्सा भत्किएपछि सवारी आवागमन ठप्प भएको छ । कुनापट्टी भिर रहेकाे र भासिएकाे ठाउँमा समेत निकै तलसम्म भत्किएकाले तत्कालै सवारी सन्चालन गर्न सक्ने अवस्था छैन ।
प्रहरीका अनुसार कृष्णभीरमा सडकको जग नै खस्किएर भासिएका कारण अहिले दुवैतर्फबाट सवारी साधन सञ्चालन हुन सकेकाे छैन ।
सडक पूर्ण रूपमा अवरुद्ध भएपछि काठमाडौँबाट बाहिरिने र मुग्लिङ हुँदै काठमाडौँ भित्रिने सयौँ सवारी साधन र हजारौँ यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।
जिल्ला प्रशासन कार्यालय धादिङले सडक खुलाउन पहल भइरहेकाे बताउँदै धैर्य एवं सतर्कताका लागि यात्रु महानुभावहरूमा अनुराेध गरेकाे छ।


