माैसमः देशका केही स्थानमा भारी वर्षाकाे संभावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको जनाएकाे छ।
मौसम पूर्वानुमान महाशाखाले जारी गरेकाे मौसम पूर्वानुमान बुलेटिनमा हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा साधारणतया बादल लागेको उल्लेख छ ।
साथै मधेश प्रदेश, कोशी र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भैरहेको छ।
आइतबार देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश प्रदेश साथै कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा हुने तथा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग तथा कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
रातकाे समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागका केही तथा कर्णाली र सुदुरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
त्यस्तै देशको तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ भने कोशी प्रदेशको पहाडी र तराई तथा बागमती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ |

