माैसमः मधेश बाहेक अन्य प्रदेशका केही स्थानमा भारी वर्षाकाे संभावना
जल तथा माैसम विज्ञान विभाग, माैसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ रहेको छ।
महाशाखाले यतिबेला देशभर साधारणतया बादल लागेको तथा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भैरहेको जनाएकाे छ ।
शनिबार देशभर साधारणतया बादल लाग्ने तथा देशको हिमाली भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ।
महाशाखाका अनुसार देशको पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ ।
लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भू-भागका धेरै तथा मधेश प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन एवं चट्याङ्ग सहित मध्यमसम्म वर्षाको रहेकाे पनि महाशाखाले जनाएकाे छ ।
दिनकाे समयमा कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भाग, कर्णाली प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
रातकाे समयमा तराई भू-भागका अधिकांश क्षेत्रमा मध्यम वर्षा तथा कोशी र बागमती प्रदेशको पहाडी भु-भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले बुलेटिनमा उल्लेख गरकेाे छ ।

