भाेटेकाेशी बाढीः सरकारकाे बचाउमा रास्वपा सभापति लामिछानेकाे सम्बाेधन, पीडितकाे आक्राेश स्वभाविक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले रसुवा भाेटेकाेशी बाढी पीडितहरूकाे आक्राेशलाई स्वभाविक भन्दै पीडितलाई हाेच्याउने, साइबर बुलिङ गर्ने र तुच्छ टिप्पणी नगर्न चेतावनी दिनुभएकाे छ । यस्ता टिप्पणी गर्नेहरूलाई रास्वपामा कुनै स्थान नहुने लामिछानेकाे स्पष्टाेक्ति थियाे ।

प्राकृतिक विपत्तिपछि विपद्लाई अवसर बनाएर एकअर्कालाई आरोप–प्रत्यारोप गर्ने र कसलाई कसरी तल खसाल्ने भनेर रमाउने प्रवृत्ति देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभएकाे छ ।

बुधबार प्रतिनिधिसभाको बैठकमा समय लिएर रोस्ट्रमबाट बोल्दै लामिछानेले सबै विपक्षी राजनीतिक दलहरूले सरकारलाई सहयाेग गरेकाे भन्दै धन्यवाद व्यक्त गर्नुभएकाे छ ।

भावनामा बगेर फिल्डमा जाने अवस्थामा नरहेकाे भन्दै उहाँले सबैसँग समन्वय गरेर संस्थागत रूपमा नै परिचालनमा लागिपरेकाे लामिछानेकाे भनाई थियाे ।

लामिछानेले आगामी दिनमा यस्ता विपद्को नियति दोहोरिन नदिन बलियो पूर्वतयारी र सुरक्षित संरचनाको नयाँ खाका बनाउनुपर्नेमा समेत जोड दिनुभएकाे छ ।

राज्यले आफ्ना सीमा, स्रोतको अभाव र थकानलाई पन्छाएर नागरिकको जीवन रक्षाका लागि ढाल बनेर उभिनुपर्ने भन्दै उहाँले सरकारले गरेकाे प्रयासकाे बचाउ पनि गर्नुभयाे ।  

जलवायू परिवर्तनका कारण निम्तिएकाे विपत्ति भएकाले यसलाई अन्तर्राष्ट्रिय मञ्चहरूमा याे सवाल प्राथमिकताका साथ उठाउनुपर्ने लामिछानेकाे तर्क थियाे ।

Facebook Comments