प्रतिनिधिसभाको बैठक बस्दै
सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाकाे बैठक आज (बिहीबार) बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे बस्न लागेकाे हाे ।
बैठकका लागि विभिन्न विधेयक तथा प्रतिवेदनहरू प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्छ्यौट (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची रहेको छ । साथै, उहाँले ‘कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावसमेत प्रस्तुत गर्नुहुनेछ ।
यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘एसियाली विधायिकी संस्थाहरूको परिषद्को सदस्यता प्राप्त गर्ने सम्बन्धी प्रस्तावमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ भने सभामुखले राष्ट्रियसभाका पूर्वसदस्य शुक्रराज संयोकको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।


