ब्रिक्स शिखर सम्मेलनः सीमापार भुक्तानीलाई सहज बनाउनुपर्नेमा जाेड
शनिबार भारतकाे नयाँ दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु भएको छ । भव्य समारोहका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीस्थित भारत मण्डपमा ब्रिक्स शिखर सम्मेलनको उद्घाटन गर्नुभएकाे हाे ।

सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलगायत उच्चस्तरीय नेताहरूको सहभागिता छ ।
ब्रिक्समा ब्राजिल, चीन, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इरान, रुस, साउदी अरेबिया, दक्षिण अफ्रिका र संयुक्त अरब इमिरेट्स (यूएई) गरी ११ देश सदस्य छन् ।
ब्रिक्सले आफूलाई विश्व तथा क्षेत्रीय महत्वका समसामयिक विषय र विश्वव्यापी राजनीतिक तथा आर्थिक शासनका मुद्दामा परामर्श र सहकार्यका लागि उपयोगी मञ्चका रूपमा प्रस्तुत गर्दै आएको छ ।

ब्रिक्स शिखर सम्मेलनको संयुक्त घोषणापत्रमा समूहका सदस्य राष्ट्रहरूले अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत समाधान गर्ने प्रतिबद्धता गरेका छन् ।
घोषणापत्रमा सीमापार भुक्तानीलाई सहज बनाउन ब्रिक्स राष्ट्रहरूले प्रयाेग गर्ने मुद्राका सम्बन्धमा समेत बिषय उठेकाे छ । विश्वमा हाल बहुपक्षीय दृष्टिकोण उपयुक्त हुने तथा आणविक खतरा र द्वन्द्वको बढ्दो जोखिमप्रति चिन्ता व्यक्त गरिएकाे छ ।
ब्रिक्सले अन्तर्राष्ट्रिय कानुनविपरीत हुने एकपक्षीय दबाबमूलक विकल्प अस्वीकार्य हुने, कार्बन सीमा समायोजन संयन्त्रलगायत एकपक्षीय, दण्डात्मक, विभेदकारी तथा संरक्षणवादी उपाय अन्तर्राष्ट्रिय मुल्य मान्यता विपरीत हुने ठहर गरेकाे छ ।
ब्रिक्सले अन्तर्राष्ट्रिय विवादलाई संवाद, परामर्श र कूटनीतिमार्फत शान्तिपूर्ण ढंगले समाधान गर्नुपर्ने मान्यता पनि दाेहोर्याइएको छ ।
ब्रिक्सलाई सम्बद्ध राष्ट्रहरूवीचकाे सहकार्यमा जाेड दिएकाे छ ।

