तीज मनाइँदै, पशुपतिमा विहानैदेखि घुइँचाे
आज हिन्दू धर्मावलम्बी नारीहरू देवादिदेव महादेवको पूजा–आराधना गरी हरितालिका तीज मनाउँदैछन्। भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन हरितालिका व्रत (तीजको व्रत) बस्ने परम्परा छ।
महर्षि आपस्तम्बले उल्लेख गरेअनुसार चतुर्थीसहितको तृतीया तिथि यस व्रतका लागि उत्तम फलदायक मानिन्छ। द्वितीया तिथिसँग योग भएको दिन भने हरितालिका व्रत गर्नु हुँदैन।
यस दिन विवाहित महिला पतिको दीर्घायु र अविवाहित महिला सुयोग्य वरको कामना गर्दै व्रत बस्ने गर्छन्। शास्त्रीय रूपमा महिला र पुरुष दुवैले यो व्रत गर्नुपर्ने विधान भए पनि समाजमा भने महिलाले मात्र श्रीमान्को दीर्घायुको कामना गर्दै व्रत बस्ने परम्परा स्थापित छ। भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी शिव–पार्वतीको पूजा र उपासना गर्नाले सुख, शान्ति तथा कल्याण प्राप्ति हुने धार्मिक विश्वास रहँदै आएको छ।
पार्वतीले महादेवसँग विवाह गर्न चाहेकाे तर पिता हिमालयले विष्णु भगवानसँग विवाह गरिदिन खाेजेपछि सखीहरूले सहयाेग गरेकाे धार्मिक ग्रन्थहरूमा उल्लेख छ ।
पार्वती ठुलो समस्यामा परेको थाहा पाएपछि सखीहरूले उनलाई हरण गरेर कसैले नदेख्ने गुप्त स्थानमा लुकाएर राखेकाे र पार्वतीले निराहार व्रत बसी महादेवलाई पतिका रूपमा प्राप्त गरेकाे पनि ग्रन्थमा उल्लेख छ ।
यसरी साथीहरूद्वारा पार्वती हरण भएको दिन भाद्र शुक्ल तृतीया परेकाले सोही समयदेखि हरितालिका तीजको व्रत बस्ने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ। यस अवसरमा महिलाहरू भेला भई खुसीयालीका साथ नाचगान गर्ने गर्छन्। तीजका गीतमा भगवान्को भक्तिगाथाका साथै परिवार तथा समाजमा महिलाहरूले भाेग्नुपरेका पीडा र मनोभावना अभिव्यक्त गर्ने गर्दछन् ।
शुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुनाले विहान ३ बजेदेखि ४ वटै द्वारबाट दर्शन गर्न मिल्ने व्यवस्था गरिएकाे छ । विहानैदेखि पशुपतिमा दर्शन गर्न जाने हिन्दु महिलाहरूकाे घुइँचाे लागेकाे छ । सुरक्षाा व्यवस्थाका लागि जिल्ला प्रहरी परिसर काठमाडौँले २५ सय सुरक्षाकर्मी परिचालन गरेकाे छ ।

