पूर्व प्रधानन्याधीशलाई प्रहरी नियन्त्रणमा लिएकाे घटनाप्रति सर्वोच्च अदालतको गम्भीर ध्यानाकर्षण
पूर्वप्रधान न्यायाधीशचोलेन्द्र शमशेर राणालाई प्रहरीले मध्यरातमा घरबाट उठाएर लगिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
असोज १० गते मध्यरातमा पूर्व प्रधानन्यायाधीश राणालाई नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा उठाएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेका थिए ।
सुरक्षा थ्रेट भएकाले लगिएकाे भनिएपनि त्यसकाे अन्तर्य अहिलेसम्म खुलेकाे छैन । तथापि न्यायिक फैसला र राजनीतिक गतिविधिमा सक्रिय रहेकाे शंका सहित नियन्त्रणमा लिइएकाे हुने सक्ने बताइन्छ ।
राणालाई करिब १० घण्टा राखी पुनः परिवारको जिम्मा लगाइएको थियो । सर्वोच्चले साेमबार पूर्ण बैठकपछि एक विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति ध्यानाकर्षण भएको जनाएको हो।
‘नेपालको संविधानले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकालाई लोकतान्त्रिक शासन प्रणालीको आधारभूत मूल्यका रूपमा आत्मसात् गरेको र पूर्व प्रधानन्यायाधीश, पूर्व न्यायाधीश तथा बहालवाला प्रत्येक न्यायाधीश र न्यायिक जनशक्ति स्वतन्त्र न्यायपालिकाको अभिन्न अंग हुन्,’ सोमबार बसेको आकस्मिक पूर्ण बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘न्यायिक जनशक्तिप्रति राज्यका निकायले गर्ने व्यवहार सदैव संवेदनशील र गम्भीर विषय बन्छ।’
विना ठाेस कारण प्रहरीले नियन्त्रणमा लिने कार्य लाेकतान्त्रिक शासन प्रणालीमा स्वीकार्य हुन नसक्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

